प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५, विपक्षमा ८३ र तटस्थमा १ मत



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रनितिधि सभामा देउवाले मागेको विश्वासको मतमा पक्षमा १६५ मत र विपक्षमा ८३ मत प्राप्त भएको छ भने तटस्थमा १ मत खसेको छ । विश्वासको मतको पक्षमा १६५ मत प्राप्त भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे ।

देउवाले पाएको मत प्रतिनिधि सभामा रहेको कुल मतको बहुमत हो । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुई पटकसम्म गरेको प्रतिनिधि सभा बिघटनलाई सर्वोच्च अदालतले दुबै पटक पुनर्स्थापना गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शेरबहादुर देउवालाई केपी ओली सरकारले शुरुवात गरेको राम्रा कामलाई निरन्तता दिँदै अगाडि बढ्ने बताए ।

त्यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले फुटबलमा रेफ्रीले गोल गरे झैं न्यायापालिकाले गोल गरेर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाए । ज्ञवालीको प्रतिउत्तरमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले न्यायापालिकाले प्रधानमन्त्री नबनाएको बरु प्रधानमन्त्री बनाउने क्रममा भएका गल्तीलाई सच्चाएको बताए । उनले ज्ञवालीलाई इंकित गर्दै संसदको विशेषाधिकार प्रयोग गरेर न्यायालयको अपमान नगर्न चेतावनी समेत दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै मर्म र भावना अनुसार संसद पुनर्स्थापना गरेको बताए । उनले सर्वोच्च अदालतले लोकतान्त्रिक भावना अनुसार संविधानको ब्याख्या गरेको बताए ।

उनले १४९ जनाको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा जाँदा प्रधानमन्त्री नियुक्त नगर्नु संविधान विरोधी काम भएको बताउँदै सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) को ब्याख्या मात्रै गरेको बताए ।


क्लिकमान्डु