७७/७८ मा सेयर लगानीकर्ताले कमाए, यो वर्ष के होला ?



कोरोनाको महामारीका बीच पनि आर्थिक बर्ष २०७७/७८ सेयर बजारका लागि सुखद् रह्यो । अघिल्लो बर्षको असारमा १३६२ अंकमा रहेको नेप्से परिसूचक यस वर्षको असारमा २८८३ माथि पुगेको छ । यो केही हप्ताअघि ३ हजारमाथिको अंकमा पुगेर फर्किएको सूचक हो ।

बजार दोब्बरभन्दा बढी अंकले बढेका कारण कसैले पनि गुमाउनु परेन । फरक यति हो कसैले धेरै नाफा कमाएका छन् भने कसैले कम नाफा बुक गरेका छन् । २८ सय अंकभन्दा तल झर्न नमानेको र बजार बुलिस प्रवृत्तितर्फ अगाडि बढिरहेकोले धेरैले के अनुमान गरेका छन् भने यो अझै माथि अर्थात कम्तीमा ४ हजारमाथि पुग्ने धेरै लगानीकर्ता तथा विश्लेषकहरुको अनुमान रहेको छ ।

विशेषगरी कुनै आधारभूत सूचकका आधारभन्दा मूडमा तलमाथि गर्ने नेपालको विशिष्ट प्रकृतिको बजारका लागि अस्थिरता, सत्ता परिवर्तन, तरलता तथा ब्याजदरको अनुकूलता, महामारीको संभावना अझै अनुकूल पक्षहरु हुन् भने थुप्रै नीतिगत सुधारहरु भएका छन् । र, तिनले बजारमा सहभागिता बृद्धि गरी मूल्यलाई माथितिर धकेल्ने संभावना देखाएका छन् भने अझै पनि धेरै नबढेको बैंकिङ्ग क्षेत्र लगानीकर्ताहरुका लागि नयाँ आर्थिक बर्षका लागि लगानीको आकर्षणका क्षेत्रको रुपमा रहने अनुमान र विश्लेषण भैरहेका छन् ।

अहिलेको मूल्यमा कर्जा लिएर लगानी गर्दा पनि बैंकको सेयरमा घाटा नै भैहाल्ने संभावना नरहेको र निकट भविष्यमा जारी हुने मौद्रिक नीतिले पुँजी वृद्धिको निर्णय गरेमा बैंकको सेयरमा उछाल आउने प्रवल संभावना रहेको छ ।

बजारमा मौलाएको विकृति र नियामक निकायका कसरत

कम्युनिष्ट सरकार आउनासाथ बजार सुसुप्त अवस्थामा रह्यो र करिव ३ बर्ष लगानीकर्ताहरुले ठूलो रकम गुमाउन पुगे । तत्कालीन अर्थमन्त्री रहुन्जेल बजारले शीर उठाउन पाएन । जव उनको पद संकटमा देखिन थाल्छ, त्यसपछि बजार बढ्नलाई ताउरमाउर गरेको देखिन्थ्यो । खतिवडा पदमुक्त हुने निश्चित भएपछि मात्र लगानीकर्ताहरुले निर्धक्क लगानी गर्न थालेका हुन् । महामारीले कहाँ पु¥याउने हो भन्ने जोखिम भएपनि लगानीकर्ताहरुले मज्जैसँग कर्जा लिए र यस क्षेत्रमा लगानी गरे । यसबीचमा केही विकृतिहरु पनि देखिए । न्यून चुक्ता पुँजीका कम्पनीको सेयरलाई कर्नरिङ्ग गरी अस्वाभाविकरुपमा मूल्य बढाएर अस्वाभाविक तहमा पु¥याउने कसरत पनि भए ।

त्यसलाई नियन्त्रण गर्न धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा कर्नरिङ्ग गरी कारोबार गरिएको पत्ता लगायो र ती कम्पनीमा रहेको उच्च जोखिमबारे बोर्डले लगानीकर्ताहरुलाई सचेत गराउनुपरेको थियो ।

त्यसैगरी अर्को नियामक निकाय नेपाल राष्ट्र बैंकले यसअघि नै केही कम्पनीको सेयर कारोबारमा मापदण्ड तोकेपछि ती कम्पनीमा पनि जोखिम रहेको छ है भन्ने सन्देश दिएको थियो । उसले नियम नै बनाएर कम्पनीको विगत तीन वर्षको वार्षिक साधारण सभा नगर्ने, लेखापरीक्षण नगर्ने र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीमा कर्जा लगानी नगर्नु ।

त्यसैगरी समस्याग्रस्त घोषणा भएका, निर्देशन बमोजिम पुँजीकोष कायम नभएका, नेटवर्थ ऋणात्मक भएका र आर्थिक वर्ष समाप्त भएको एक वर्ष व्यतित हुँदा पनि अन्तिम लेखापरीक्षण गर्न नसकेका कम्पनीहरुमा पनि कर्जा लगानी नगर्नु भनी बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन नै दिएको थियो । तर, यहाँनिर अर्को विकृति पनि घुस्यो र त्यसमा कतिपय बैंक तथा वित्तीय संस्थाहरु नै सामेल हुन पुगे ।

यो कुरा थाहा पाएपछि राष्ट्र बैंक चूप बस्न सकेन । मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत केही कम्पनीलाई लक्ष्यित गरी नीतिगत उक्त नियामक निकायले त्यस्ता बैंक तथा वित्तीय संस्था लक्ष्यित विशेष निर्णय नै ग¥यो । उसले बैंक तथा वित्तीय संस्थाहरुलाई आफै संलग्न नहुन तथा त्यस्ता लक्ष्यित कम्पनीमा कर्जा प्रवाह नगर्न निर्देशन दियो । यस अनुरुप अन्य कर्जाजस्तै सेयर धितो कर्जामा पनि भुक्तानीको सुनिश्चितता हुनेगरी विस्तृत विश्लेषण गर्नुपर्ने व्यवस्था गरियो ।

साथै अहिले बैंकहरुले धितोको रुपमा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, लाभांश इल्ड, लाभांश अनुपात जस्ता आधारभूत सूचकांकको विश्लेषण गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिदियो । यी दुई निकायको सक्रियतापछि बजारको बढ्दो बेग नियन्त्रणमा आएको छ ।

तर, तल धेरै झर्न अस्वीकार गरिरहेको देखिन्छ । आगामी दिनका लागि उक्त नियामक निकायसँग एउटा अस्त्र बाँकी छ । त्यो हो, सेयरको कर्जामा मार्जिन सीमा कटौती । यस सीमालाई ६० प्रतिशतसम्म ल्याइने चर्चा छ । यसले बजारलाई केही असर गर्न सक्छ । तर, मूल्य फेरि बढेको अवस्थामा भने त्यसको असर न्यून रहनेछ ।

बजार सुधारका कदम र यसको सकारात्मक प्रभाव

बैंकका सहायक कम्पनी वा अन्य ठूला पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने, नयाँ स्टक एक्स्चेन्जलाई स्वीकृति दिने, प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल, नयाँ पुनर्बीमा कम्पनीको स्थापना हुन लागेका केही सुखद् खबरहरु बजारको सकारात्मक वृद्धिका लागि ठोस टेवा दिने नीतिगत सुधारहरु हुन् जसले लगानीकर्ताहरुमाझ ठूलो उत्साह ल्याउनेछन् ।

विशेषगरी बैंकहरुको संख्या बढी भएकोले मर्जर एक्विजिसन गर्नुपर्ने बाध्यता देखिएको छ । मर्जर एक्विजिसनलाई कडाईका साथ कार्यान्वयनमा ल्याउन चुक्ता पुँजी वृद्धिको चर्चा भैरहेको छ । फरक राजनीतिक परिदृश्यमा राष्ट्र बैंकको मनस्थिति परिवर्तन भयो भने वेग्लै कुरा । नत्र बैंकहरुबीच जवर्जस्ती मर्जर गर्न राष्ट्र बैंकको उपल्लो तहमा यसपटक चुक्ता पुँजी वृद्धिको यो हतियार चलाउने गृहकार्य शुरु गरिसकेको थियो । बैंकको चुक्ता पुँजी वृद्धि गरी २० देखि २५ अर्ब पु¥याइने हल्ला चलेको थियो ।

यदि पुँजी वृद्धि भएको अवस्थामा बैंकको सेयर लगानीमा यो बर्ष ठूलो आकर्षण पैदा हुने स्थिति रहेको थियो । पुँजी वृद्धि नगरेपनि ब्यापार तथा कारोबारको आकार बढाएसँगै पुँजी पर्याप्तता अनुपात कायम गर्नु बाध्यताले बोनस लाभांश दिनुपर्ने र राष्ट्र बैंकले गतबर्षको जस्तैगरी नगद लाभांशलाई हतोत्साहित गरी बोनसलाई जोड दिने संभावना भएकोले नयाँ आर्थिक बर्षमा पनि विशेषगरी बैंकको सेयरमा आकर्षण कायम रहन सक्छ ।

सेयरको अनलाइन कारोबार ब्यापक बन्न थालेको छ र यसले स्वदेश तथा विदेशका धेरै लगानीकर्ताहरुलाई सामेल गर्न मद्दत पुर्याएको छ । अघिल्लो २०७५/७६ को बुलमा डिम्याट खाता ३÷४ लाखको संख्यामा थिएन भने अहिले करिव ३५ लाख यस्ता खाता रहेकोले सहभागिता पनि बढेको देखिन्छ । अनलाइन कारोबारमा भएको यो सुधारले गाउँ गाउँमा सेयरप्रति चेतना वृद्धि भै सहभागिता बढेको छ ।

विगत केही समययता नागरिक स्टक डीलर, म्युचअल फण्ड लगायत संस्थागत लगानीकर्ताहरु बढ्दै गएका छन् । यसले बजारको माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन मद्दत पु¥याएका छन् । यी नीतिगत सुधारका कारण आगामी दिनमा नसोचिएको तहमा बजारले छलाङ मार्न सक्ने संभावना देखिन्छ ।

त्यस्तै बजारमा तरलताको सहज अवस्था, न्यून ब्याजदर, राजनीतिक सुधार, अव चार महिना जति पर्खिनासाथ लाभांश प्रतिफल आउने संभावनाका बीच बजारमा लगानी बढेर मूल्य माथि जाने संभावना देखिन्छ ।

कोरोना नियन्त्रण भई अन्यत्र लगानीको वातावरण निर्माण भएमा बजार परिसूचक ३५ सय माथि जान कठिन हुने दिन पनि आउनसक्ने संभावना छ । बजार बढेकोले नियामक निकायको आँखाको तारो बनिरहेको अवस्थामा प्रतिकूल नीतिगत व्यवस्थाको जोखिम पनि उत्तिकै छ ।


पुष्प दुलाल