कर्मचारीको सहमति बिना नै एसबिआई बैंकले कर्मचारीलाई कोषमा आवद्ध गरायो



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना कर्मचारीलाई जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । कर्मचारीको सहमति बिना नै बैंक व्यवस्थापनले कोषमा सूचीकरण गराई असार महिनाको योगदान वापतको रकम समेत पठाएको हो ।

वित्तीय क्षेत्रका कर्मचारीहरू कोषको ऐन तथा कार्यविधि संशोधन नगरेसम्म आवद्धता अडानमा छन् । उनीहरुले कोषमा भएका असन्तुष्टिका बुँदाहरू प्रष्टयाउँदै सर्वोच्चमा रिट समेत दर्ता गराएका छन् । 

नेपाल वित्तीय संस्था कर्मचारी संघको अगुवाइमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूका कर्मचारीले कोष विरुद्ध दिएको रिटमा सर्वोच्चले साउन ५ गतेलाई सुनुवाइ गर्ने समय दिएको छ ।

यो अवधिसम्म संघले सबै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका व्यवस्थापनलाई जबरजस्ती कर्मचारीलाई कोषमा आवद्ध नगराउन विज्ञप्ती जारी गर्दै भनिसकेको छ । तर नेपाल एसबिआई बैंक व्यवस्थापनले भने कर्मचारीको सहमति बिना नै कोषमा योगदानको रकम पठाएको बैंक कर्मचारी युनियनका अध्यक्ष तुलसी दाहालले बताए ।

‘असार मसान्तको चपेटामा कर्मचारी रहेको अवस्था बैंकले युनियनसँग पनि नसोधी असार मसान्तमा हिजो राती ७ बजे कोषमा रकम पठाइसकेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘हामी बैंकका कर्मचारी युनियनले अदालतको फैसलालाई पर्खिनु भनेर व्यवस्थापकलाई आग्रह धेरै पटक गरेका थियौ, भने वित्तीय संस्था कर्मचारी संघले समेत गरेको थियो तर व्यवस्थापनले आफुखुसी कर्मचारीको सहमति बिना नै कोषमा असार महिनाको पैसा पठाइ सकेछ ।’

बैंक कर्मचारी युनियनले अदालतसम्म पुगेको कोषमा आवद्धताको असन्तुष्टका विषयलाई समेत वास्ता नै नगरी जबरजस्ती कोषमा सम्पूर्ण कर्मचारीको योगदान रकम पठाएको उनले जानकारी दिए ।

‘कर्मचारी युनियनको तर्फबाट हामीले बैंकका डेपुटी सीइओ महोमद रिज्वान अलाम र चिप अप्रेशन अफिसर यावेन्द्र कान्तसँग छलफल गरेका हौँ,’ उनले भने, ‘तर उहाँहरूले कर्मचारीलाई सूचीकरण गराएर कोषमा योगदान रकम पठाउँदा अदालत नै जानु पारेपनि तयार भन्दै कोषमा रकम पठाउने निर्णय कार्यान्वयन गर्नु भएको हो ।’

बैंक व्यवस्थापनले स्टेट बैंक अफ इन्डियाबाट आएका कर्मचारी बाहेक सबैलाई कोषमा आवद्ध गराएर योगदान वापतको रकम पठाउन शुरु गरेको उनले जानकारी दिए । हाल एसबिआई बैंकमा १ हजार जनाको हाराहारीमा कर्मचारी कार्यरत छन् । बैंक व्यवस्थापनले यस अघिदेखि नै कोषमा आवद्ध हुनलाई कर्मचारीलाई दवाव दिन थालेपछी ५/६ जना कर्मचारीले राजिनामा नै दिइसकेको बैंक कर्मचारी युनियनका अध्यक्ष दाहालले जानकारी दिए ।

अदालतको निर्णय नआउँदै सामाजिक सुरक्षा कोषमा कर्मचारीलाई आवद्ध गराएमा व्यवस्थापनकै विरुद्धमा उत्रिने धम्की दिएका वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ती जारी गर्दै असार ३१ गते दिएको थियो । एसबिआई बैंक व्यवस्थापनले भने सो धम्कीलाई बेवास्ता गर्दै सोही दिन नै कोषमा आवद्ध गराई योगदान रकम समेत पठाएको हो । 


क्लिकमान्डु