६ महिनापछि बस्दै राष्ट्रियसभा बैठक, एकदर्जन अध्यादेश पेश गर्ने कार्यसूची
काठमाडौं । करिब ६ महिनापछि राष्ट्रिय सभा बैठक बिहीबार बसेको छ । आजको बैठकमा १ दर्जन अध्यादेश पेश गर्ने कार्यसूची छ ।
गत पुस २६ गते राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य भएपछि त्यसयता बैठक बस्न सकेको थिएन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौं बैठक असार १७ गते बोलाएपछि करिब ६ महिनायता बन्द रहेको राष्ट्रिय सभा खुलेको हो । प्रतिनिधि सभा भने अहिले विघटित अवस्थामा छ ।
आजको राष्ट्रिय सभा बैठकमा १२ वटा अध्यादेश पेश हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो अध्यादेश २०७७ र सपथ सम्बन्धी अध्यादेश २०७८ पेश गर्नेछन् ।
त्यस्तै गृहमन्त्री विष्णु प्रसाद पौडेलले ५ वटा अध्यादेश पेश गर्नेछन् । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संधोशन) अध्यादेश २०७७, नेपाल प्रहरी प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संधोधन) अध्यादेश २०७८ र तजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गर्नेछन् ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्नेछन् ।
स्वाथ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले तीनवटा अध्यादेश पेश गर्ने कार्यसूची पनि आजको बैठकमा राखिएको छ । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश२ २०७८ पेश गर्नेछन् ।