गृहमन्त्री पौडेलद्वारा क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन, कोषमा ५ अर्ब रकम 



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन दिएका छन् । साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए ।

गृहमन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गरे ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्षति न्यूनीकरणका  लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिए ।

उनले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिए  ।

उपप्रधान तथा गृहमन्त्रीले तत्काल गर्नुपर्ने तयारीका साथसाथै विपदबाट जोगिन दीर्घकालीन रुपमा गर्नुपर्ने कामलाई अघि बढाउन पनि निर्देशन दिए ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानले  कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए ।

उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नु पर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले  पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताए ।


क्लिकमान्डु