वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध मुद्दा दर्ता गर्दै



काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् । मंगलबारदेखि सामाजिक सुरक्षा कोषका विरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरु अब अदालत जाने भएका हुन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष पर्शुराम खानले कोषविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भएको बताए ।

‘बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले मिहेनतले कमाएको सम्पत्ति हो । यो हामीले कर तिरेर कमाएको सम्पत्ति हो, यो सम्पत्तिलाई हडप्छु भन्नु कोषको दादागिरि हो,’ उनले भने ।

उनले मंगलबारदेखि बैंक तथा वित्तीय क्षेत्र तथा बीमा क्षेत्रका कर्मचारीहरु आन्दोलनमा उत्रिएको र आन्दोलनमार्फत् माग सम्बोधन हुने अवस्था नभएपछि अदालत जान बाध्य भएको बताए ।

‘सामाजिक सुरक्षा कोषको उद्देश्य राम्रो भए पनि यसले अहिले मजदुरमारा नीति अपनाएको छ, यसविरुद्ध अदालत जानुको विकल्प रहेन,’ उनले भने ।

मंगलबारदेखि विभिन्न बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।


क्लिकमान्डु