राजदेवी नगरपालिकाका मेयरले १५ मिनेटमा बजेट ल्याए, न कर्मचारी थाहा पाए न जनप्रतिनिधिले



काठमाडौं । रौतहट जिल्लाको राजदेवी नगरपालिकाले नगरसभा छलेर आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

नगरपालिकाका २७ जना जनप्रतिनिधि र कर्मचारीसमेतलाई जानकारी नदिई खुसुक्क बजेट ल्याइएको हो ।

नगरपालिका प्रमुख धिरेन्द्रकुमार सिंह र उपप्रमुख अंशु सिंहबीचको विवादका कारण त्यहाँको बजेट पछिल्लो तीनवर्षदेखि प्रभावित भइरहेको छ । चालु आर्थिक वर्षको बजेट मेयर आफैले गत माघ १७ गते ल्याएको घोषणा गरेका थिए । तर कार्यपालिकालाई बजेट बारे कुनै जानकारी थिएन । त्यस्तै आगामी आर्थिक वर्षको बजेट पनि कार्यपालिकाको एउटा पनि बैठक नराखेर ल्याइएको हो ।

नगरपालिका प्रमुख धिरेन्द्रकुमार सिंहले क्लिकमाण्डुसँगको कुराकानीमा असार ७ गते नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको र नगरसभाले पारित गरेको बताए ।

तर उपप्रमुख अंशु सिंहले नगर सभामा आफुलगायत २७ जना जनप्रतिनिधिलाई प्रवेश गर्न नदिएको र प्रमुख प्रशासकीय अधिकृतबाहेक केही कर्मचारीलाई पनि यसबारे जानकारी नदिइएको बताइन् ।

‘असार ७ गते नगरसभा गर्नुभर्यो । अहिले कार्यपालिका सदस्यको घर घरमा गएर हस्ताक्षर लिइरहनु भएको छ,’ उपमेयर अंशु सिंहले भनिन्, ‘नगरसभामा १२ जना मात्रै उपस्थित थिए भन्ने सुनेका छौं । हामीलाई उपस्थित गराउन अनुरोध गर्दा माइन्युट नै भएको छैन किन उपस्थित गराउने भन्नुभयो ।’

राजस्व परामर्श समितिको संयोजक उपप्रमुख रहने व्यवस्था छ । तर उक्त समितिको बैठक १ दिन मात्र बसेको र त्यो बैठकमा आफुलाई आय–व्ययको विवरणबारे केही जानकारी नदिएको उपप्रमुख सिंहले बताइन् ।

‘जेठ १० गते राजस्व परामर्श समितिको बैठक बसेको थियो । त्यसपछि कहिल्यै कुनै छलफल भएन । कार्यपालिकाको बैठक १ दिन पनि नबसीकन बजेट ल्याएको भनेका छन् । त्यो पनि घुमाएको घुमायै छन्,’ उपप्रमुख सिंहले भनिन् ।

नगरपालिका प्रमुखले पछिल्लो तीनवर्षदेखि एकलौटी ढंगलेका काम गरिरहेको विषयमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासनमा बारम्बार जानकारी गराएको र पटक-पटक निवदेन दिँदा पनि सुनुवाई नभएको उनको भनाइ छ ।

कार्यपालिकाका कर्मचारीलाईसमेत बजेटबारे कुनै सुइको दिईएको छैन । नगरपालिको प्रमुख प्रशासकीय अधिकृत नै २ जना छन् । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रमाकान्त प्रसाद यादव गएको १ महिना भन्दा बढी समय भइसक्यो । तर उनले नगरपालिकामा हाजिरी लगाउन पाएका छैनन् । यसअघि कार्यरत सुबोध साहलाई नै मेयर सिंहले काम गराईरहेका छन् ।

‘मेयरले प्रमुख प्रशासकीय अधिकृतका रुपमा मलाई नै काम गर्नु भन्नुभएको छ । नयाँ आएका कर्मचारीलाई मेयरले नै नराख्ने भनेपछि यसमा मैले केही भन्न मिल्दैन,’ अहिले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालिरहेका सुबोध साहले भने ।

नगरपालिकाका एक कर्मचारीले एकातिर मेयर र उपमेयरको झगडा र अर्कोतिर प्रमुख प्रशासकिय अधिकृतको लफडाले आगामी आर्थिक वर्षको बजेट गोलमटोल तरिकाले ल्याएको बताए ।

‘हामी कर्मचारीलाई नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट के छ भन्ने नै थाहा छैन । सोमबार (असार ७ गते) को नगरसभा बैठक १५-२० मिनेटजति बसेको थियो । नीति तथा कार्यक्रम र बजेट आइसकेको भनेका छन् । तर कति रकमको कस्तो बजेट आयो भन्ने कसैलाई जानकारी छैन,’ एक कर्मचारीले भने ।

जिम्मेबारी मुक्त भएर पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका सुबोध साहका अनुसार आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ५६ करोड ८० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


क्लिकमान्डु