ब्रोकर कमिशन घटाउने हैन, प्रतिस्पर्धात्मक बनाऔंः तिलक कोइरालाको लेख
भारतमा जिरोधा नामक ब्रोकर कम्पनीले लगानीकर्तालाई प्रतिकारोबार २० रुपैयाँ वा कारोबार रकमको ०.०३ मध्ये जुन कम हुन्छ त्यही मात्र ब्रोकरेज शुल्क लिन्छ । र, हस्तान्तरण शुल्क पूर्णत निःशुल्क गरी सस्तो ब्रोकरेज सेवा दिएको छ । उसले प्रत्यक्ष म्युचुअल फण्डमा लगानी र डीपी सेवा पूर्णत निःशुल्क गरेको छ ।
भारतमै आईसीआईसीआई बैंकको सहायक कम्पनी आईसीआईसी सेक्युरिटिजको आईआईसी डाइरेक्टले लगानीकर्तालाई निःशुल्क हितग्राही खाता खोल्ने, ट्रेडिङ खाता खोल्ने, पहिलो बर्ष हितग्राही खाता नविकरण गर्न नपर्ने जस्ता सुविधा दिएर सेयर कारोबारमा सघाउँछ । उसले ०.७५ प्रतिशतसम्म कमिशन लिन्छ । र, लगानीकर्ताको छनौट अनुसारको सेयर कारोबारको सुविधा उपलब्ध गराउँछ ।
भारतमा कतिपय ब्रोकरले बार्षिक एकमुष्ठ १० हजार रुपैयाँ लिएर आफुले प्रबाह गर्ने ब्रोकरेज सेवा निःशुल्क गरेको पनि पाइन्छ । थरिथरिका ब्रोकर, थरिथरिका कमिशनदरहरु छन् ।
भारतमा सबै सुविधा उपलब्ध गराउने फुल सर्भिस ब्रोकर्स र डिस्काउन्टेड सर्भिस ब्रोकर्स गरी २ खालका सेयर दलालहरु छन् । उनीहरुले आफुले प्रवाह गर्ने सेवा सुविधाको आधारमा फरकफरक शुल्क लिन्छन् । र, लगानीकर्तालाई छनौटका विकल्पहरु दिएका छन् । फुल सर्भिस ब्रोकर्सको शुल्कहरु अलि महंगा हुन्छन् । तर, सबैखाले सुविधाहरु दिएका हुन्छन् । तर, डिस्काउन्टेड सर्भिस ब्रोकर्सका शुल्कहरु कम हुन्छन् । र, उनीहरुले सिमित सेवाहरु दिएका हुन्छन् । लगानीकर्ताहरुले आफ्नो आबश्यकता र सुविधा अनुसार ब्रोकर छनौट गर्छन् ।
भारतमा ब्रोकरहरुले लिने शुल्क हेरौं
स्रोतः भारतीय मिडिया
नेपालमा भने ठूलो कारोबारमा ०.२७ र सानो कारोबारमा ०.४० प्रतिशतबीचको ब्रोकर कमिशन दर तोकिएको छ । लगानीकर्तालाई छनौटका विकल्पहरु छैनन् । र, खाए खा नखाए घिचको बाध्यात्मक अबस्था छ । ब्रोकरहरुबीच प्रतिस्पर्धात्मक वातावरण नहुँदा त्यसको मार लगानीकर्ताले खेप्दै आएका छन् भने राम्रो सेवा सुविधा दिने ब्रोकरहरुले प्रतिस्पर्धात्मक वातावरणमा आफुलाई उभ्याउन सकेका छैनन् । जुन ब्रोकरकोमा गए पनि उही गुणस्तरहिन सेवा, सुविधा र कमिशन दर भएपछि पूँजी बजारको गुणात्मक विकासमै बाधा परेको छ ।
भारतमा एउटा ब्रोकरले लिने शुल्क हेरौं
स्रोतः भारतीय मिडिया
गल्ती कहाँनिर भइदियो भने हालै धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने क्रममा प्रतिस्पर्धात्मक वातावरण हुनेगरी नतोकी निश्चित ब्रोकर कमिशन दर तोकेर आफ्नो अविवेकी प्रदर्शन गर्यो । उसले माथिल्लो बिन्दु तोकेर तल्लो विन्दु खुला छाड्नसक्नु पर्दथ्यो । ताकी ब्रोकरहरुले स्किम ल्याएर लगानीकर्ता तान्ने प्रतिस्पर्धा गरुन् । यसले ब्रोकरहरुलाई आफ्नो सेवा सुविधा गुणस्तरीय र लगानीकर्तामैत्री बनाउँन बाध्य बनाउथ्यो । र, लगानीकर्ताको हित बिरोधी काम गर्ने र सुविधा नदिने ब्रोकरहरुको कार्यालय कि बन्द हुन्थ्यो कि त उनीहरु पनि सुध्रिएरै अरु राम्रा ब्रोकरजस्तै सुविधा थप र बिस्तारमा सक्रिय हुन्थे । यहाँ धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई आफ्नो कमिशन घट्ला कि भन्ने त्रास भयो र निश्चित दरको कमिशन तोकियो ।
अर्को महत्वपूर्ण कुरा सरकारलाई प्राप्त हुने कर छली हुन्छ कि भन्ने चासो जायज भए पनि ब्रोकरहरुको कारोबार पारदर्शी र जतिखेर पनि हेर्न सकिने खालको भएकाले त्यतिसम्म बदमासी गर्ने ब्रोकरहरुको लाइसेन्स नै खारेज गर्न सकिन्थ्यो । जस्तो कि हालै भारतमा कयौं ब्रोकरहरुको सेवीको निलम्बनमा परे ।
ब्रोकर कमिशनलाई मात्रै आम्दानीको आधार बनाउने जुन परिपार्टी यहाँ बसेको छ, त्यो पूँजी बजार बिस्तार बिरोधी छ । ब्रोकरलाई डिलरशीप, मार्जिन ट्रेडिड. एडभाईजरी, पोर्टफोलियो ब्यवस्थापनजस्ता थप काम गर्न दिएर उनीहरुको आय बढ्ने अवसरहरु सिर्जना गर्न सकिन्छ । नेप्से र धितोपत्र बोर्डले पनि खाली आफ्नो कमिशन घट्ला कि भन्ने चिन्ता गर्ने हैन, सेवाहरुको विविधिकरण गरेर थप आय गर्नसक्छन् । सरकारलाई कर कम होला कि भन्ने चिन्तालाई सम्बोधन गर्न पूँजीगत लाभकरमा विविधिकरण गरेर थप आय गर्नसक्ने अबस्था छदैछ । ट्रेडिड. एकाउन्ट हालसम्म नेपालमा निःशुल्क रहेकोमा गुणस्तरीय, भरपर्दो र अत्याधुनिक टीएमएस ल्याउने हो भने त्यसका लागि पनि लगानीकर्ताले न्युनतम शुल्क तिर्न तयार हुनैपर्छ ।
इन्ट्रा डे कारोबारलाई अलग ब्रोकर कमिशनको ब्यवस्था गर्न सकिन्छ । डेरिभेटिभ्स र डिबेन्चरमा ब्रोकर कमिशनको फरक ब्यवस्था छँदैछ । म्युचुअल फण्डहरुलाई प्रबद्र्धन गर्न प्रोत्साहनमुखी नीति आबश्यक छ । धेरै साना लगानीकर्ताहरुले दोस्रो बजारमा सेयर किनबेचमा भन्दा सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी बढाउँन र केही सुरक्षित लगानी गरुन् भन्ने सोच हुनैपर्छ । धितोपत्र बोर्ड र नेप्सेले सेवा सुविधाहरु थप गर्दै गए आम्दानी पनि बढ्दै जान्छ । सीडीएससीले केन्द्रिकृत ग्राहक पहिचान विवरण अर्थात् केन्द्रिकृत केवाईसी ब्यवस्थापन गरेर सेवा लिने सम्बन्धित कम्पनीसँग सेवा शुल्क असुल्न सक्छ ।
ब्रोकर कमिशन तल्लो विन्दु खुला छाड्ने कुरा गर्दा केही ब्यक्तिहरु यसबाट ठूला र कर्पोरेट लगानीकर्ताहरु मात्र लाभान्वित हुन्छन् भन्ने तर्क गर्छन् । निश्चितरुपमा सानो कारोबार गर्नेलाई केही कमिशन दर बढी नै पर्ला जस्तो कि पसलमा उही सामान सानो पाकेट र ठूलो पाकेटमा मूल्यान्तर केही फरक नै हुन्छ । ठूलो पाकेट किन्दा मूल्य र परिमाणमा केही छुट हुन्छ भने सानो पाकेटमा लागत केही बढी नै पर्न जाने गरेको छ । प्याकिङलगायतका कारणले यसो हुनु स्वभाविक हो । त्यस्तै ब्रोकर कमिशन दरमा पनि सानो कारोबार गर्नेलाई केही बढी नै पर्न जान्छ किनभने सेटलमेन्ट प्रक्रियामा सानो कारोबारहरुलाई समय र जनशक्ति बढी नै लाग्छ ।
तर, लगानीकर्तालाई छनौटको अधिकार र विकल्प हुने हुँदा उनीहरुले आफ्नो आबश्यकता र सहजता अनुसारको ब्रोकर कार्यालय र कमिशन दर छनौट गरी सेवा लिन सक्छन् ।
बर्षमा १० कित्ता सेयर किनबेच गर्ने र दिनदिनै कारोबार गर्नेलाई उही सुविधा देउऊ भनेर वकालत गर्नु औचित्यहिन हो । जस्तो कि बैंकमा एक करोड रुपैयाँ निक्षेप राख्ने वा कर्जा लिने र ठूलो आकारमा कारोबार गर्नेलाई अनेक सुविधा दिइन्छ भने एकपल्ट गएर खाता खोली १०० रुपैयाँ राख्नेले कमै मात्र सुविधा पाउँछन् । कपितय बैंकले त ठूला ग्राहकलाई घर वा कार्यालयमै कर्मचारी पठाएर रकम भुक्तानी वा कर्जा प्रबाहको सुविधा दिन्छन् । त्यो सुविधा १०० रुपैयाँ निक्षेप राख्ने वा एक लाख रुपैयाँसम्म कर्जा लिनेले पाउँदैनन् ।
पूँजी बजारमा पनि खाली १० कित्ते नीतिमात्रै अघि बढाउने हो भने विकास र बिस्तार अबरुद्ध भइरहने छ । तर, पनि एकपल्ट मात्रै कारोबार गर्ने वा सानो कारोबारीलाई चर्को कमिशन दर र शुल्क नपरोस् भन्ने कुरामा ख्याल गरी अहिलेको अधिकतम शुल्कको सीमामा परिवर्तन गरिनु हुँदैन ।
यहाँ ब्रोकरहरुलाई आफ्नो आबश्यकता अनुसारको प्रविधि भित्र्याउने, सफ्टवेयर ल्याउने, सेवाहरु थप र विविधिकरण गर्ने अधिकार दिइएको छैन । प्रविधिको विकासमा अंकुश लगाइएको छ । नेप्सेको कारोबार प्रणालीले राम्रो काम नगर्दा पनि त्यसको बिकल्प खोज्ने छुट न त ब्रोकरलाई छ न त लगानीकर्तालाई नै । राम्रो गर्छु भन्ने ब्रोकरले पनि राम्रो गर्न पाएको छैन । भारतमा ब्रोकरहरुले जसरी प्रविधि भित्र्याउने र लगानीकर्ताहरुलाई छनौट र विविधिकरणसहितको सुविधा दिएका छन्, त्यसो यहाँ किन हुन सक्दैन ?
भारतमा बाणिज्य बैंक, बीमा कम्पनी र संस्थागत लगानीकर्तालाई ब्रोकर कम्पनी खोल्न दिएर पूँजी बजारको विकासलाई फराकिलो पारिएको छ भने यहाँ सिमित ब्यक्तिगत ब्रोकरहरु मात्रै राखेर बजारको फैलावटलाई खुम्च्याइएको छ । भारतमा सब ब्रोकर सेवा दिन ब्रोकरहरुलाई अधिकार दिइएको छ भने नेपालमा शाखा बिस्तारमै कडाई छ । अनि कसरी हुन्छ पूँजी बजारको विकास ?
त्यसैले नेपालमा माथिल्लो बिन्दुको ब्रोकर कमिशन दर तोकेर तल्लो बिन्दु खुला राख्नुपर्छ । र, ब्रोकरहरुलाई प्रतिस्पर्धा गराउनुपर्छ । ब्रोकरहरुलाई पुरा सेवा दिने ब्रोकर र कमिशन ब्रोकर गरी दुई तहमा बर्गीकरण गरेर सोही अनुसारको पूँजी र नेटवर्थ कायम गर्न लगाउनुपर्छ अनि सेवा बिस्तार, विविधिकरणसहितको अधिकार दिईनुपर्छ । त्यसपछि लगानीकर्तालाई छनौटको विकल्पसहितको कारोबारको प्रत्याभुति दिलाउनु अनिवार्य छ । (लेखक कोइराला नेपाल पूँजी बजार विकास अभियानका संयोजक हुन् ।)