लगानी बोर्डको ४७औं बैठकः २ जलविद्युत् आयोजनामा करिब ९७ अर्ब लगानी स्वीकृत



काठमाडौं । मंगलबार बसेको लगानी बोर्डको ४७औं बोर्ड बैठकले २ वटा जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार २८५ मेगावाट विद्युत् उत्पादन क्षमताको अपर तमोर हाइड्रोपावर आयोजनामा करिब साढे ६३ अर्ब र १३९.२ मेगावाट विद्यु उत्पादन क्षमताको तल्लो मनाङ-मस्र्याङ्दी जलविद्युत् परियोजनामा करिब साढे ३३ अर्ब बराबरको लगानी स्वीकृत भएको हो ।

करिब ६ महिनापछि बसेको बोर्डको बैठकको कार्यसूचीमा ११ वटा एजेण्डा थिए ।

जसमध्ये परियोजना कार्यान्वयन सम्बन्धी एजेण्डामा दमक औद्योगिक पार्कको बिस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, तल्लो अरुण जलविद्युत् परियोजनाको समझदारीपत्रको मस्यौदा पनि बोर्डले स्वीकृत गरेको छ ।

कानून मिचेर ६ महिनायता बस्न नसकेको लगानी बोर्ड बैठक बस्दै, के छन् एजेण्डा ?

तमोर जलाशययुक्त आयोजनाको प्राविधिक समितिको अध्ययन प्रतिवेदन कार्यान्यवन सम्बन्धी, पश्चिम सेती जलविद्युत् आयोजना र एसआर ६ जलविद्युत् आयोजनाको विकास मोडालिटी सम्बन्धमा पनि निर्णय भएको भट्टले क्लिकमाण्डुसँग बताए ।

कानूनी सुधार सम्बन्धी पनि केही महत्वपूर्ण निर्णय भएको उनको भनाइ छ । जसमा विदेशी मुद्रा सटही एवम् स्थानान्तरण सुविधा सम्बन्धी कार्यविधि पनि बोर्डले स्वीकृत गरेको छ ।

दाङ सिमेन्ट इन्डस्ट्री र सम्राट सिमेन्ट इन्डस्ट्रीको वातावरणीय प्रभाव मूल्यांकन (इआईए)का लागि म्याद थपको निर्णय बोर्डको बैठकले गरेको छ ।

त्यस्तै, मुक्तिनाथ केबलकारको डीपीआर गर्ने समय पनि थप गरेको छ ।


क्लिकमान्डु