कानून मिचेर ६ महिनायता बस्न नसकेको लगानी बोर्ड बैठक बस्दै, के छन् एजेण्डा ?



काठमाडौं । पछिल्लो ६ महिनायता बस्न नसकेको लगानी बोर्डको ४७औं बैठक मंगलबार दिउँसोबाट शुरु भएको छ । मौजुदा कानूनी व्यवस्थाअनुसार गत चैतमै बस्नुपर्ने बोर्डको बैठक मिति गुजार्दै आज बसेको हो ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसारले बोर्डको बैठक प्रत्येक २ महिना अर्थात एक वर्षमा ६ पटक अनिवार्य रुपमा बस्नुपर्ने प्रावधान राखेको छ । कोभिड १९ महामारीको कारण देखाउँदै सरकारले बोर्डको बैठक छल्दै आएको आएको थियो ।

प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको बैठक लामो समयदेखि बस्न नसक्दा सार्वजनिक–निजी साझेदारी मोडलका परियोजनासँग सम्बन्धित महत्वपूर्ण एजेन्डाका बोर्डमा थन्किएर बसेका थिए ।

पछिल्लो एकवर्षयता बोर्डको नियमित बैठक बस्न सकेको छैन । ४५ औं ४६ औं बैठकमा पेश भएका एजेण्डाहरु पनि ४७औं बैठकमा छलफल हुनेछन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा गतवर्ष साउन १९ गते सुशील भट्टले नियुक्ति पाएका थिए । विदेशी लगानीमा नीतिगत फड्को मार्ने भन्दै उनले एकसाथ ६ वटा रुपान्तरणकारी योजना कार्यान्वयनका लागि ‘पेपरवर्क’ समेत तयार पारेका थिए । तर उनका योजना बोर्ड बैठकबाट पारित भएका छैनन् । बोर्डको आज बसेको बैठकबाट ती रणनीतिक अवधारणाहरु स्वीकृत हुन अनुमान गरिएको छ ।

लगानी बोर्डको कार्यालयले विदेशी लगानी आकर्षित गर्नका लागि दीर्घकालीन रणनीतिक योजना बनाउने, लगानी बोर्डको ५ वर्षे योजना तयार पार्ने, आयोजना बैंक बनाउने, नलेज म्यानेजमेन्ट पोर्टल कार्यान्वयन गर्ने, स्वचालित एकल बिन्दु सेवा कार्यान्वयनमा ल्याउने र विदेशी लगानी सम्बन्धी विद्यमान कानून संशोधन, नीतिगत सुधार तथा कार्यविधि निर्माण लगायतका काम अन्तिम स्वीकृतीका लागि तयारी अवस्थामा राखेको छ ।

यी एजेन्डाहरु बोर्डको ४४औं र ४५औं बैठकमा पनि पेश भएका थिए । तर प्रधानमन्त्रीले विस्तृत छलफलका लागि चासो नदेखाएपछि पारित हुन सकेका थिएनन् ।

त्यस्तै, आजको बैठकले लगानी बोर्डमार्फत केहि महत्वपूर्ण आयोजनाहरुमा आएको लगानी स्वीकृती गर्ने पनि ठानिएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन लागेको स्वीजरल्याण्डको कम्पनी जुरिच एयरपोर्ट इन्टरनेसनलको विषय, माथिल्लो कर्णालीमा जिएमआरले वित्तीय व्यवस्थापन गर्नुपर्ने विषय, अरुण ३ जलविद्युत् आयोजनाको मुआब्जा विवाद, काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन, मुक्तिनाथ केबल कार, सिमरा सेज, माथिल्लो मस्र्यांङ्दी २, वल्र्ड बुद्धिस्ट एक्विजिसन पार्क निर्माणलगायतका आयोजनासँग सम्बन्धित विषयहरु आजको बैठकका एजेण्डा रहेको लगानी बोर्ड कार्यालय स्रोतले जनाएको छ ।

लगानी बोर्ड बैठकमा चासो देखाउँदैनन् प्रधानमन्त्री
लगानी बोर्डको बैठकलाई प्रधानमन्धीले उपेक्षा गर्न लागेको एक वर्षभन्दा बढी समय भयो । विभिन्न राजनीतिक कार्यक्रम, आयोजना उद्घाटन तथा शिलान्यासलगायतका सार्वजनिक कार्यक्रममा सहभागिता भइरहँदा पनि ओलीले बोर्डको बैठक सधैं टारिरहे ।

पछिल्लो १ वर्ष अवधिमा हेर्दा बोर्डको बैठक जम्मा तीनपटक मात्र बसेको छ । २०७६ माघ २२ गते बोर्डको ४३औं बैठक बसेको थियो । त्यसपछि करिब ५ महिना पछि २०७७ असारमा ४४औं बैठक बस्यो । बोर्डको ४५औं बोर्ड बैठक गत कात्तिक र ४६औं बैठक गत माघमा बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन ।


क्लिकमान्डु