राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ अन्तरिक ऋण उठाउँदै सरकार



काठमाडौं । सरकारले राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । केन्द्रिय बैंकले मंगलबार सूचना जारी गर्दै १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने जनाएको हो ।

बोलपत्रमार्फत् बिक्री गरिने ‘विकास ऋणपत्र २०८४ ‘च’ नामक उक्त ऋणपत्र ६ वर्षमा परिपक्क हसने उल्लेख गरिएको छ । सो विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत् मंगलबार अपराह्न ३ बजे हुनेछ । ब्याजदर भुक्तानी भने अर्ध बार्षिक रुपमा हुने र आर्जित ब्याजदरमा ब्याजकर लाग्ने बाताइएको छ ।

राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई बोलकबोल अनलाइन बिडिङ्ग सिस्टममार्फत् पेश गर्न भनेको छ ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।

राष्ट्र बैंकले सरकारका निम्ति आन्तरिक ऋण उठाइदिने क्रममा विकास ऋणपत्र जारी गरेको हो । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । जसमा १ खर्ब ६५ अर्ब रुपैयाँ ऋण उठिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु