निर्वाचनमा खटिने कर्मचारी र पदाधिकारीले जेठयता थप ७५ प्रतिशत तलब पाउने



काठमाडौं । आगामी कात्तिक र मंसिर महिनाका लागि तोकिएको मध्यावधि निर्वाचनमा खटिने निर्वाचन आयोग र निर्वाचन कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुले थप सेवा सुविधा पाउने भएका छन् ।

उपनिर्वाचन संचालन आर्थिक कार्यविधि–२०७६ अनुसार निर्वाचन आयोगका कर्मचारी र पदाधिकारीलाई निर्वाचन अवधिको थप सेवा सुविधा उपलब्ध गराउने सरकारले निर्णय गरेको हो ।

आयोग र निर्वाचन कार्यालयका कर्मचारीहरुले उपनिर्वाचन तोकिएको मितिदेखि मतगणना सम्पन्न भएको ३५ दिनसम्म शुरु तलब स्केलको ७५ प्रतिशतसम्म उपनिर्वाचन भत्ता पाउनेछन् ।

सरकारले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । सरकारले आगामी कात्तिक २६ र मंसिर ३ गते गरी २ चरणमा निर्वाचन घोषणा गरेको छ ।

आचार संहिता कार्यान्वयन तथा अनुगमन, प्रचार प्रसार मतदानस्थत, मतगणना वा अन्य कामकारबाहीमा खटिने कर्मचारीहले यो सुविधा पाउनेछन् ।

आयोग र उपनिर्वाचन हुने निर्वाचन कार्यालयमा कार्यरत काज र करारका कर्मचारीलेसमेत भत्ता पाउँछन् । त्यस्तै आयोगका पदाधिकारी र सुरक्षा अधिकारीहरुले पनि थप भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।

आयोगका स्वीकृत दरबन्दी बाहेक अन्य निकायबाट उपनिर्वाचनको काममा खटी आएका कर्मचारीले पनि यस्तो भत्ता पाउनेछन् । तर, ७ दिनभन्दा बढी घरबिदा वा १५ दिन भन्दा बढी प्रसुती बिदामा रहेका कर्मचारीले भने उपनिर्वाचन भत्ता पाउने छैनन् ।

सरकारले बिहान बेलुका कम्तीमा २ घण्टा बढी काममा खटिने कर्मचारीहरुले खाजा तथा खाना खर्चका रुपमा थप सुविधा पनि दिने पनि निर्णय गरेको छ ।


क्लिकमान्डु