एक हप्तामा सुनको मूल्य प्रतितोला ३ हजार ९ सयले घट्यो
काठमाडौं । गत सोमबारबाट निरन्तर ओरालो लागेको छापावाला सुनको मूल्य एक हप्तामाको अवधिमा ३ हजार ९ सय रुपैयाँले घटेको छ । गत आइतबार छापावाला सुनको मूल्य ९३ हजार ९०० रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबारबाट निरन्तर ओरालो लागेको हो ।
आइतबार ९३ हजार ९०० रुपैयाँमा कायम भएको छापावाला सुनको मूल्य सोमबार ७ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कायम भएको थियो । साथै, मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ सय रुपैयाँ घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ११ सय रुपैयाँले ९२ हजार रुपैयाँ कायम भएकोे थियो ।
सोमबारबाट निरन्तर ओरोलो लागेको सुनको मूल्य शुक्रबार पनि १२ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आइतबार पनि ८ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो भने आइतबार ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, करिब एक हप्ताको अवधिमा चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेको छ । जसमा आइतबार प्रतितोला १३ सय ७० रुपैयाँ, सोमबार १३ सय ६५ रुपैयाँ, मंगलबार १३ सय ५५ रुपैयाँ कायम भएको थियो । तर, बुधबार भने ५ रुपैयाँ बढेर १३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै, बिहीबार २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ, शुक्रबार ३५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँ कायम भएकोमा आइतबार पनि पुनः १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ ।