मेलम्चीमा प्रकृतिको बितन्डा, के यो चमोलीको दोस्रो रुप हो ? यसो भन्छन् जानकार



काठमाडौं । आम मानिस कोरोना कहरमा छन् । अधिकांश घरमा नै थिए । व्यापार व्यवसाय चौपट छ । वर्षायाम महामारी नै भएपनि खेतीपाती गर्ने समय । भर्खर शुरु भएको मनसुनले धेरैलाई खुसी तुल्याएको थियो । त्यस्तै खुसीमा थिए मेलम्चीबासी पनि ।

साँझको समय अधिकांश मानिस खानपान गर्ने तयारीमा थिए । नजिकै सुसाउने इन्द्रावती उनीहरुका लागि काल बनेर आउला भन्ने मेलम्चीबासीले सायदै कल्पना गरेका थिए । किनकी, इन्द्रावतीसँग पनि उनीहरुको वर्षौदेखिको मित्रता थियो । जीवन र जगतको सम्बन्ध थियो ।

तर, सोही सम्बन्धको डोरी यसरी टुट्यो कि क्षणभरमा नै वर्षौको मेहनत बालुवामा पानी हाले जस्तै हरायो । एक्कासी आधी आए जस्तै भयो । निमेषभरमा नै आफनो घर गोठ, जायजेथा सबै बगाएर लग्यो । क्षणभरमा मच्चिएको हाहाकारले उनीको सपना खोेसेर लग्यो । प्रकृति बहुलाएपछि कसैको केही नलाग्दो रहेछ, त्यस्तै भयो ।

विसं २०७२ सालको भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकले हरेक वर्ष विपत्ती सहनु परेको छ ।

जुरेको पहिरो होस्, भूकम्प र हरेक वर्ष आउने बाढी पहिरोले उनीहरुलाई त्राहीमान मात्रै बनाएको छैन, दैवको श्राप नै लागेको त होइन भन्ने समेत पर्न थालेको छ । मंगलबार पनि त्यस्तै विपदको अर्को रौद्र रुप देखा पर्यो । गुल्जार बन्दै गएको मेलम्ची बालुवामा रमिता हेर्न पुगे जस्तै भएको छ ।

गत माघमा भारतको चमोलीमा आएको हिम पहिरोले ठूलो जनधनको क्षति भएको समाचार सुनेका नेपालीले मेलम्चीमा त्यस्तै विपदको रौद्र रुप देखे र भोगे । चमोलीले थोरै संवेदनशिल बनाएको नेपालीलाई मेलम्चीले असाध्यै ठूलो पीडा दिएको छ । किनकी हजारौ मानिस घरबारबिहीन भएका छन् । मेलम्ची पछिल्ला दिनमा एउटा व्यापारिक केन्द्रका रुपमा स्थापित हुँदै थियो । नगरपालिका बनेपछि आर्थिक क्रियाकलाप पनि बढ्दै थियो ।

मेलम्ची खोलामा आएको बाढीले १९ जना वेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार हालसम्म ३ शव फेला परेको छ । अबौंको क्षति भएको छ । यो पीडाको समयमै सरकारले राहत देओस् र आफनो खोसिएको थातथलो पुनः स्थापित होओस् भन्ने चाहे छन् ।

चमोली र मेलम्ची बाढीका केही समानता छन् । चमोलीमा पनि हिमपहिलो पछि आएको बाढीले आधा दर्जन जलविद्युत् परियोजना समस्यामा पारेको थियो । मेलम्ची बाढीले पनि भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । हेलिकोप्टरमा मेलम्चीको माथिल्लो क्षेत्रमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पहिरो खसेका काराण बाढी आएको अनुमान गरेका छन् ।

माथिल्लो क्षेत्रमा पहिरो खसेर मेलम्ची, लार्के वा याङ्ग्रीमा समस्या आएको र नदी थुनिएको हुन सक्ने सम्भावना देखिएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हालसम्म भइसकेको छैन । तर, माथिल्लो क्षेत्रमा पहिरो खसेको आफूसहितको टोलीले हवाई निरीक्षणमा देखेको स्वास्थ्य तथा जनसंख्या मन्त्री तामाङको दावी छ ।

मेलम्ची बजारमा देखिएको ढु्ंगा लेदोसहितको गेग्रयाउनले पनि माथिल्लो क्षेत्रमा पहिरो खस्दा नदीले रौद्र रुप देखाएको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ । हिमाली क्षेत्रमा कुनै न कुनै समस्या आएका कारण त्यसको असर तल्लो तटमा परेको सामान्य बुझाई छ । यसको स्वतन्त्र पुष्टि भएपछि थप शोध तथा खोज सार्वजनिक होला नै ।

सामान्यतया, भौगर्भिक अध्ययनअनुसार नेपालका पहाडलाई कमजोर पहाडका रुपमा लिइन्छ । भूकम्पले ती पहाडलाई नराम्ररी हल्लाइदिएको छ । पानी पर्ना साथ ती पहाडमा केही न केही जोखिम देखिन थाल्छ नै । जलवायु परिवर्तनका कारण पनि एउटै स्थानमा बढी मात्रामा पानी पर्ने गरेको छ । मेलम्ची आसपासको क्षेत्रमा वर्षदिनभरीमा पर्ने पानी एकै रात परेको मौसमविदहरुको भनाइ पनि सार्वजनिक भएको छ ।

कमजोर पहाडमा एकै पटक पानी पर्दा, त्यसले पहिरो निम्त्याएको हुन सक्ने जानकारहरुको टिप्पणी छ । पहिरो गएपछि नदी थुनिएको र नदीको निकास एकै पटक खुल्दा त्यसले मेलम्ची बजारलाई खण्डहर बनाइदिएको अवस्थालाई धेरैले सही ठानेका छन् । विशेष गरी हिमाली क्षेत्रमा बाढीको जोखिम बढिरहेको छ । सिन्धुपाल्चोकमा यसअघि देखिएका बाढी तथा पहिरोको श्रृंखला अन्तरदेशीय विषय समेत बनीरहेको छ । भोटेकोशीमा आउने बाढीको सन्दर्भ तिब्बतसँग पनि जोडिन्छ ।

भोटेकोशीमा यसअघि आएका बाढीका सन्दर्भ पनि यसमा जोडिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १ गते मेलम्चीध्याङ नजिकै पहिरो गई मेलम्ची खोला थुनिएको देखिन्छ ।

सोही कारण मेलम्ची खोलाको नाकोटे जलमापन केन्द्रमा करिव एक घण्टा समयावधिमा जलसतह एकासी घटेको र अकस्मात पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध बिस्फोट भएको र बाढी आएको देखिन्छ । सोही बाढीका कारण तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको हो ।

मेलम्चीध्याङ नजिकै मेलम्ची थुनिएको अनुमान गरिएपछि मौसमको खराबीका कारण त्यहाँको वस्तुस्थिती पत्ता लाग्न सकेको छैन । ठूलो ताल नबनेपनि मझौला प्रकृतिको ताल बनेको अनुमान गर्न सकिने जल तथा मौसम विज्ञान विभाग मातहतको बाढी पूर्वानुमान शाखाको बुझाइ छ ।

विभागले स्याटेलाइट तस्विरका आधारमा तथ्यको विश्लेषण गरिरहेको छ । विभागका अनुसार असार १ गते हेलम्बु क्षेत्रमा १८.८ मिलिमिटर वर्षा भएको थियो । जेठ ३० गते ३३ मिलिमिटर, जेठ ३१ गते ११.८ मिलिमिटर मात्रै वर्षा भएको देखिन्छ । तर मेलम्चीको जलाधार क्षेत्र मानिएको थाङपालधापमा भने जेठ २९ गते भारी वर्षा भएको तथ्य देखिन्छ ।

त्यस क्षेत्रमा पहिरो आउँछ भनेर विज्ञले २०७२ को भूकम्प पछि अनुमान गरेका थिए । त्यसको वितण्डा यतिबेला देखिएको हो ।

पहिरो खसेर मेलम्ची नदी थुनिएको थियो, त्यसैले बाढी ल्यायोः रविन निरौला वातावरण विज्ञ

रविन निरौला वातावरण विज्ञ

भुँईचालो पछि हेलम्बुका विभिन्न स्थानमा पहिरो गएको थियो । हामीले त्यहाँ पहिरो खोल्दै गर्दा के देखेका थियौं भने त्यहाँको भूगोग चिरा चिरा परेको थियो । त्यहाँ थप पहिरोको जोखिम थियो । उच्च जोखिम अनुमान गरिएको भएपनि करिब ४ वर्षसम्म त्यसले थामेको मान्नुपर्छ ।

हेलम्बुको हकमा नासपातेको बस्ती भुँइचालो पनि नै उच्च जोखिममा परेको भनेर पहिचान भएको थियो । २०७२ सालको वर्षायाममा नै त्यहाँ पहिरो लाग्छ भन्ने अनुमान गरिएको थियो । किन कि भूकम्पले सबैतिर चिरैचिरा परेको थियो । त्यस्तो नाजुक अवस्थामा पुगिसकेको भूगोलले पनि ५ वर्ष थेग्यो । यो अवधिमा त्यहाँ ठूलो पहिरो लागेन ।

दुर्भाग्यवश अहिले त्यहाँ एउटा ठूलो स्लोभ नै खसेको छ । मेलम्ची घ्याङ भन्ने बस्तीबाट अगाडिको भागमा कुनैदिन पहिरो लाग्छ भन्ने अनुमान पहिल्यै थियो । नेपालको भूगोल सबैतिर यस्तै छ । नखसुन्जेल मात्रै सुरक्षित छ भनेर भन्नुपर्ने अवस्था छ ।

करिब ३ दशक अगाडि पनि मध्यपहाडी भूभागमा अत्यधिक वर्षाका कारण धेरै बाढी पहिरोको सामना गर्नुपरेको थियो । त्यो बेला सबै सडकमा पहिरो लागेको थियो ।

मेलम्चीको हकमा पहिरो खसेर ४५ मिनेट बढी खोला थुनेको देखिन्छ । पानी परेपछिको नदी त्यसमाथि ४५ मिनेटसम्म थुनिँदा त्यसले कति विकराल रुप लिन्छ हामी अनुमान गर्न सक्छौं । त्यसले नखटेदेखि हेलम्बुको भूभाग खर्सुङ, अम्बाटारसम्म त्यसले क्षति गर्यो । मेलम्ची खानेपानी आयोजनाको अडिट र त्यहाँबाट तलको भागहरु सबै बगाएको छ ।

एउटा कुरा हामीले अझै अध्ययन गर्न बाँकी छ, त्यो के हो भने मेलम्ची खानेपानीको सुरुङबाट निकालिएको ढुंगा-माटोको थुप्रो पनि सँगै बगेको छ । त्यो थुप्रोले पनि पानीको बहाबसँगै लेदो बोकेर ल्यायो ।

मेलम्ची खोलापट्टी सेतो बालुवाजस्तो लेदो जमेको छ भने इन्द्रावतीमा कालो छ । यसरी हेर्दा अम्बाथानमा थुपारिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट निकालिएको माटोको ढुंगाको थुप्रो बगाएको अनुमान गर्न सकिन्छ ।

याङ्ग्री र लार्केबाट इन्द्रावती नदीमा पनि पहिरो गएको छ । तर त्यहाँ थुनिएन । मेलम्ची र इन्द्रावती दुवैतिरबाट ठूलो भल आएका कारण एकले अर्कोलाई थुन्ने काम गरेको देखिन्छ । एउटा नदिले अर्को नदी थुनेपछि बनेको बहाबले माटो, लेदो, रुखका मुडा सबै बग्न थाले ।

अपत्यारिलो किसिमले नदीको धार बदलिएको छ ।

आफ्नो बाटोबाट नभई नदीको धार पनि फेरिएको देखिन्छ । मेलम्चीको स्वरुप बांगिनुको कारण त्यहाँ दुवै नदीले एक अर्कालाई छेक्नुलाई लिन सकिन्छ । त्यसले २ वटा समस्या सिर्जना गर्यो । एउटा–मेलम्चीले ल्याएको माटो, लेदो बस्तीमा पस्यो । र इन्द्रावतीले त्याएका ठूला रुख, मुडा र ढुंगाले पूलमा असर पारेको देखिन्छ । प्रकृतिको यो विनाशलीला नेपालमा पहिलो पटक पनि होइन र अन्तिम पनि होइन । अहिले भर्खर बर्षात शुरु हुँदैछ ।

हामीले अझैपनि ध्यानदिनुपर्ने विषय के छ भने खोलाले आफ्नो बाटो पाउनुपर्छ । छेकिनु हुँदैन । हामीले बाढी पहिरो रोक्न नसकौंला तर नदीको धार र बहाबलाई स्वभाविक अवस्थामा फर्काउन सक्नुपर्छं । तबमात्र जोखिम कम हुन जान्छ ।


क्लिकमान्डु