इजरायल रोजगारीका लागि छुट्टै संयन्त्र बन्दै, आगामी वर्षभित्रमा इजरायल जान पाइने



काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारका लागि छुट्टै संयन्त्र बन्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

सरकारले इजरायल रोजगारीका लागि सम्झौता गरेअनुसार इजरायल रोजगारीका लागि छुट्टै संयन्त्र बन्ने कार्य अन्तिम चरणमा पुगेको हो ।

इजरायलले केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने भनिए पनि पहिलो चरणमा भने केयर गिभर मात्रै लैजाने तयारी गरेको छ ।

पहिलो चरणमा केयर गिभर कामदार लैजान इच्छुक इजरायलले २०७७ साल माघ ८ गते ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर गरेका थिए ।

सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धि निर्देशिका, २०७८’ जारी गरिसकेको छ । उक्त निर्देशिका जारी गरेसँगै इजरायल रोजगारीमा जान इच्छुक कामदारको लागि बाटो खुलेको छ ।

इजरायल सरकारले दक्ष कामदारलाई प्राथमिकता दिने भएकाले नेपाल सरकारले सोही अनुसार निर्देशिका जारी गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी चन्द्रकला ओलीका अनुसार मन्त्रालयले निर्देशिका जारी गरेसँगै उक्त रोजगारीमा जानका लागि छुट्टै संयन्त्र तयार गरिरहेको बताइन् ।

मन्त्रालयले निर्देशिका स्वीकृत गरेर निर्देशिका अनुसार पाठ्क्रमका लागि वैदेशिक रोजगार विभागले छुट्टै संयन्त्र तयार गरिरहेको जानकारी दिइन् । साथै, सफ्टवेयरको कार्य पनि भइरहेको बताइन् ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले इजरायल रोजगारीका लागि छुट्टै संयन्त्र बनाउने कार्य अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार निर्देशिका अनुसार सो देशमा रोजगारीमा पठाउनको लागि कोर्स डिजाइन गरिरहेको बताए ।

‘सरकारले निर्देशिकामा स्पष्ट रुपमा के–कस्ता योग्यता र कस्तो कागजात आवश्यक पर्दछ भन्ने विषयमा स्पष्ट उल्लेख गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘निर्देशिकामै जारी भएको विषयलाई इजरायल रोजगारीको पाठ्यक्रम र योग्यतालाई समेट्ने गरी छुट्टै संयन्त्र बनाउने कार्य अन्तिम चरणमा पुगेको हो ।’

विभागका अनुसार इजरायल रोजगारीका लागि तयार भइरहेको पाठ्यक्रम असार मसान्तसम्ममा निर्माण भइसक्ने जनाएको छ । भट्टराईका अनुसार सरकारले यस विषयलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको थियो । तर, कोरोनाले गर्दा आन्तरिक कार्यमा समस्या भएकाले ढिला भएको बताए ।

‘इजरायल रोजगारीको लागि सरकारले छिटोभन्दा छिटो संयन्त्र तयार गरी विज्ञापन खुलाउने तयारी गरेको हो । तर, कोरोनाले गर्दा काममा निकै बाधा पुगेको छ,’ उनले भने ।

हाल कोरोनाले गर्दा काठमाडौंमा स्मार्ट लकडाउन भएको घोषणा गरेको छ । यस्तै, अझै समय भएकाले अवस्था सामान्य बन्न पुगेमा इजरायल रोजगारीको सम्पूर्ण संयन्त्र तयार भई विज्ञापन खुलाउने भएको उनले जानकारी दिए ।

त्यस्तै विभागले इजरायल रोजगारीका लागि छुट्ट्रै सफ्टवेयर निर्माण गरी सहज बनाउने भएको छ । उक्त सफ्टवेयर र पाठ्क्रमका लागि समय अनुकुल भएमा असार मसान्तसम्ममा रोजगारी पठाउनेबारे टुङ्गो लगाउने विभागले जनाएको छ ।

आगामी वर्षभित्रमा इजरायल जान पाउने
सरकारले २०७७ साल अस्थायी रोजगारीसम्बन्धि असोज १४ गते हस्ताक्षर गरेको थियो । उक्त समयमा केयर गिभर, कृषि, होटल रेष्टुराँलगायत अन्य क्षेत्रमा नेपालीलाई रोजगारीमा भने पनि इजरायल सरकारले पहिलो चरणमा केयर गिभर लैजानेमा इच्छुक देखाएको छ । सोही अनुसार २०७७ माघ ८ गते केयर गिभरको ‘इप्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरी प्रक्रिया बढेको हो ।

सरकारले इजरायल रोजगारीको लागि निर्देशिका जारी गरे कोरोनाले गर्दा थप प्रक्रिया अघि बढ्न नसकेको सरोकारवालाहरू बताउँछन् ।

त्यसैगरी निर्देशिका जारी भएसँगै इजरायल जान इच्छुक नेपालीहरूलाई भने इजरायल रोजगारीमा कहिले जाने पाउने भन्ने प्रश्न रहेका छन् । यसले गर्दा सरकारले हाल चालु आर्थिक वर्षका सम्पूर्ण आन्तरिक कार्य पूरा गरेर विज्ञापन खुलाउने तयारी गरेको छ ।

विभागका सूचना अधिकारी भट्टराईले भने कोभिडले खासै असर नगरेमा सरकारले संयन्त्र कार्यको पूरा गर्ने लगत्तै विज्ञापन खुलाउने बताए । साथै, असार मसान्तसम्ममा सम्पूर्ण कार्य सकिएको अवस्थामा साउनमा सुचना प्रकाशन गर्ने उनको भनाइ छ ।

‘सरकारले असहज स्थितिमा पनि कार्य गरिरहेको हुनाले आगामी वर्षमा निर्देशिका अनुसार सम्पूर्ण परीक्षा गरी इजरायल रोजगारीमा जान पाउनेछन्,’ उनले भने ।

यस्तै, सरकारले परीक्षाको सम्पूर्ण संयन्त्र तयार गरेको हुनाले परीक्षा सञ्चालन तोकिए बमोजिम योग्यता पुगेका नेपालीहरू छिट्टै रोजगारीमा जान सक्ने उनले दावी गरे ।

इजरायल सरकारले रोजगारीमा जानको लागि अंग्रेजी भाषा अनिवार्य गरेको छ भने पहिलो चरणमा ५ सय रोजगारीमा लैजाने जनाएको छ । साथै, आगामी दिनमा इजरायल सरकारले अन्य क्षेत्रमा पनि बिस्तारै खुलाउने प्रतिबद्धता दिएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु