सिभिल बैंकको सीइओमा पोखरेल, देश र विदेश गरेर तीन दशकको अनुभव



काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले असार १८ देखि लागु हुने गरेर पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।

पोखरेल अहिले सिभिल बैंकमा कामू सीइओको रुपमा कार्यरत रहेका छन् । सिभिल बैंकका सीइओ गोविन्द गुरुङ म्यानमार सिटिजन्स बैंकमा सीइओ हुन गएपछि सिभिलमा सीइओ पद खाली थियो ।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय पोखरेलसँग नेपाल तथा विदेशको बैंकमा काम गरेको अनुभव छ । पोखरेलले बैंकिङ करिअरको सुरुवात तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड)बाट गरेका थिए ।

उनीसँग एनआईसी एशिया र नबिल बैंकमा समेत काम गरेको अनुभव छ । सिभिलमा आउनु अगाडि पोखरेल म्यानमारमा रहेको बैंकमा कार्यरत थिए ।


क्लिकमान्डु