व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

3.1k
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका छन् ।

सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान सुरु गरेसँगै भट्टलाई मंगलबार अध्यागमनको कालोसूचीमा राखिएको स्रोतको दाबी छ । यससँगै उनको पासपोर्ट रोक्का हुने छ ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा भट्टलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।

राजनीतिक व्यक्तिसँग पहुँचमा रहेर सेटिङ मिलाएर स्वार्थअनुरूप काम गराउँदै आएको भट्टमाथि आरोप लाग्ने गरेको छ ।

भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन् ।

शंकास्पद कारोबार फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए । विभागले उनीसँग प्रारम्भिक बयान पनि लिएको थियो । तर, पछि अनुसन्धान रोकिएको थियो ।

सत्ता–शक्तिको आडमा अनुसन्धान दबाइएको आरोप लागेकोमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ नजिकको शक्तिशाली सरकारको नेतृत्व बालेन शाहले गरेपछि भट्टमाथि शुद्धीकरण अनुसन्धानलाई अघि बढाइएको हो ।

नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगाय र उनीहरू निकटका व्यक्तिको समेत सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तिव्रता दिइएको छ ।