छुटको व्यवस्थाले भीड बढेसँगै ४ दिनमै साल्ट ट्रेडिङ र खाद्य कम्पनीमा नयाँ व्यवस्था
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले भारी छुटमा सामान लिनेहरुको भिड बढेपछि नयाँ व्यवस्था गरेको छ । छुटमा सामान बिक्री गर्न थालेको ४ दिनमै नयाँ व्यवस्था लागू भएको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए ।
कर्पोरेशनले मंगलबारदेखि ७ बजेदेखि ९ बजेसम्म मात्रै खुला गर्ने जनाएको छ । जसमा कर्पोरेशनले भीड भएको भन्दै बिक्री कक्ष खोल्ने समय घटाएको हो । यसअघि साल्ट ट्रेडिङले बिहान १० बजेदेखि ४ बजेसम्म खाद्यान्न बिक्री हूँदै आएको थियो ।
सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्ने खाद्यान्न र ग्यासमा २० प्रतिशतको छुटको व्यवस्था गरेको थियो ।
साल्ट ट्रेडिङले गत जेठ १९ गते एक सूचना जारी गर्दै पिठो, चिनी, नून, भटमासको तेल र ग्यासमा २० प्रतिशत छुटसहित सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको थियो ।
प्रधानका अनुसार हाल बिक्री कक्षको समय घटाए पनि घुम्ती सेवा भने पूर्ण सञ्चालन रहेकाले त्यसबाट पनि लाभ लिन सक्ने बताए ।
त्यस्तै, छुटको व्यवस्था गरेसँगै अहिले सञ्चालन भएको बिक्री कक्ष र घुम्ती सेवाबाट दैनिक १२ लाखसम्मको खाद्यान्न र ग्यास बिक्री भइरहेको उनले जानकारी दिए ।
‘अहिले बिक्री कक्षको समय घटाए पनि घुम्ती सेवाबाट सेवा लिन सक्ने व्यवस्था छ,’ उनले भने, ‘सोमबारसम्म १० देखि ४ बजेसम्म भए पनि कर्पोरेशनले ६ बजेसम्म सेवा प्रदान गरेको थियो । त्यसबेला भीडभाड बढ्न गई नियम उल्लङ्घन भएको भन्दै समय घटाएको हो ।’
छुट व्यवस्था लागू भएसँगै बिक्री कक्षमा दैनिक ५ सयको हाराहारीमा मानिसको भीड हुन्थ्यो । साथै, बिक्री कक्षमा भीड भई तछाडमछाड भएकाले समय घटाएको उनले जिकिर गरे ।
साथै, अहिले एउटा बिक्री कक्षबाट ३ लाखसम्मको खाद्यान्न बिक्री हुने गरेको उनको भनाइ छ । त्यसैगरी, कर्पोरेशनले आजबाट उपत्यकाबाहिर बनेपा र नारायणघाटमा पनि बिक्री कक्ष सञ्चालनमा ल्याएको उनले बताए ।
त्यस्तै, खाद्य कम्पनीले पनि छुटको व्यवस्थाले भीड बढेपछि टोकनको व्यवस्था गरेको छ । कम्पनीले गत जेठ २० गतेबाट चामल, पिठो, दाल, नून, खानेतेल, चिनी र ग्यासको बिक्रीमा छुटको व्यवस्थाले बिक्री कक्षमा भीड बढेपछि आजबाट टोकनको व्यवस्था गरेको कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।
उनका अनुसार बिक्री कक्षको समयमा जति पनि टोकन पाएका छन् । त्यसलाई टोकनको आधारमा बिक्री गर्ने व्यवस्था गरेको उनले जानकारी दिइन् ।
हाल छुटको व्यवस्थाले सो समयमा बिक्री कक्षमा भीड बढ्न गई समस्या निम्तिएकाले टोकनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ । कम्पनीले सोमबारसम्ममा १ सय ३७ क्विन्टल खाद्यान्न बिक्री गरेको छ भने उक्त खाद्यान्न तथा ग्यासमा १ लाख ७३ हजार रुपैयाँसम्म छुट दिएको उनले बताइन् । जसमा कम्पनीले हालसम्म ८ लाख ६५ हजारको खाद्यान्न र ग्यास बिक्री गरिसकेको छ ।