वस्तु विनिमयको व्यवस्था गरी खाद्य वस्तुको पनि पुँजी बजारमा कारोबार, निक्षेप सुरक्षण प्रिमियम घटाइने
काठमाडौं । सरकारले पुँजीबजारको विकास र स्थायित्वमा जोड दिने भएको छ । जसकालागि आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने अर्थमन्त्री बिष्णु पौडेले बताए ।
उनले आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा धान, मकै, गहुँ, चिया, अलैची जस्ता उत्पादनलाई वस्तु विनिमय कारोबारमा समावेश गरिने बताएका छन् ।
उनका अनुसार वैदेशिक लगानीमा सञ्चालन हुने विकास आयोजनामा विदेशी मुद्रा विनिमय दर जोखिम व्यवस्थापन गर्न कमर्सियल हेजिङ्ग सेवा शुरु गर्न सरकारले सहजीकरण गर्नेछ ।
यसैगरी, सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको पुँजी वृद्धि गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले कोषमा निक्षेप सुरक्षण तिर्ने प्रिमियम दर समेत घटाउने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।
साथै, उनका अनुसार सम्पत्ति शुद्धिकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण र जोखिम न्यूनीकरण गर्न राष्ट्रिय रणनीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाइनेछ ।