कृषिमन्त्री अर्यालको निर्देशनपछि नेपाल एयरलाइन्समा यात्रुलाई दही दिइने



काठमाडौं । नेपाल एयरलाइन्सले अब नेपालमै उत्पादित दुग्घजन्य पदार्थको प्रयोग गर्ने भएको छ ।

हरेक वर्ष करोडौं रुपैयाँ विदेशी गइरहेको भन्दै कृषिमन्त्री पद्यमा अर्यालले निर्देशन दिएसँगै नेपाल एयरलाइन्सले अब डीडीसीबाट उत्पादित पदार्थ प्रयोग गर्ने भएको हो ।

एकातिर नेपालकै उत्पादनको बिक्री बढ्ने र विदेशिने रकम पनि जोगिने भएकाले उक्त निर्णय गरिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

यसअघि मन्त्री अर्यालले राष्ट्रिय दुग्घ संस्थानको बैठकलाई सम्बोधन गर्दै निर्देशन दिएकी थिइन् ।

अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दहीलगायतका दुग्घजन्य पदार्थ बाह्य मुलुकबाट आयता गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थ प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

वायुसेवा निगमका अनुसार अब नेपाल एयरलाइन्समा यात्रुलाई जुसको साटो नेपालमै उत्पादन भएको दही दिइनेछ । हाल निगमले वार्षिक ३ देखि ४ करोड रुपैयाँ बराबरको विदेशी खाद्यान्न आयात गर्दै आएको थियो ।


क्लिकमान्डु