दूधमा प्रतिलिटर ६ र बिक्री नभएकोे दूधमा १० रुपैयाँ अनुदान दिन डेरी उद्योग संघको माग



काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण डेरी उद्योग समस्यामा परेको भन्दै डेरी उद्योग संघले सरकारसँग राहत माग गरेको छ ।

अहिले दूग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको भन्दै संघले दूधको उत्पादनमा प्रतिलिटर ६ रुपैयाँ र खपत हुन नसकेमा थप १० रुपैयाँ अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

डेरी उद्योगहरुले झोल दूधबाट धुलो दूध बनाउँदा प्रतिलिटर १६ देखि २१ रुपैयाँसम्म नोक्सानी व्यहोरिरहेकाले दूध उत्पादनमा प्रतिलिटर ६ रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने संघको माग छ ।

त्यस्तै, डेरी उद्योग र दूग्ध सहकारीले प्रयोग गर्ने विद्युतमा ५० प्रतिशत अनुदान दिनुपर्ने तर कृषि सहुलियत कर्जाको सीमा बढाइनुपर्ने पनि संघले माग राखेको छ ।

‘चालु पुँजीको अभावमा किसानको नियमित भुक्तानी, धुलो दूध कन्भरसन ज्याला र कर्मचारीको तलब दिनसमेत समस्या आएकोले डेरी उद्योगमा भएको मौज्दातको आधारमा १० करोड रुपैयाँ सम्मको सहुलियत कृषि कर्जा उपलब्ध गराउन माग गर्दछौं,’ संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

स्वदेशी दूग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्नसक्ने स्थिति रहेकाले आयातित सम्पूर्ण दूग्धजन्य पदार्थको आयातमा तत्काल रोक लगाइनुपर्ने पनि संघको माग छ ।


क्लिकमान्डु