स्वास्थ्य सामग्रीको भन्सार जाँचपास सम्बन्धी छुट्टै कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
संघ सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था तथा निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिइएको हो ।
अर्थमन्त्री पौडेलले कोभिड-१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्य सहित दैनिक रुपमा मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिएका छन् ।
भर्चुअल कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।
त्यस्तै, राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसँग समन्वय गरी चौबिसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरिरहेको बताए