निषेधाज्ञाको बेलामा काममा खटिने विद्युत प्राधिकरणका कर्मचारीलाई २० देखि ५० % भत्ता पाउने
काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा अवधिमा काममा खटिने नेपाल विद्युत प्राधिकरणका कर्मचारीले २० देखि ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने भएका छन । त्यस्तै काममा नगएका करार र दैनिक ज्यालादारीका कर्मचारीले पनि सरकारले तोकेको न्युनतम तलब पाउनेछन ।
प्राधिकरणले बिहीबार यस्तो निर्णय गरेको हो । प्राधिकरणले गरेको निर्णयअनुसार निषेधाज्ञाको समयमा कार्यालयमा उपस्थित नभएका दैनिक ज्यालादारी कर्मचारीलाई पनि सरकारले तोकेको १३ हजार ४५० रुपैयाँ बराबरको पारिश्रमिक दिइने छ ।
गोटागन्तीमा मिटर रिडिङ गर्न राखिएका कामदारको हकमा २०७७ माघ, फागुन र चैत महिनामा लिएको पारिश्रमिकको औसत बराबर पारिश्रमिक पाउनेछन ।
बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएका क्षेत्रमा पर्ने कार्यालयहरुमा निषेधाज्ञा अवधिका लागि नोलाईट, मिटर सिकायत र मर्मत सम्भार कार्यमा खटिने कर्मचारीका लागि काममा खटिएको अवधिको गणनाका आधारमा शुरु तलबको ५० प्रतिशत भत्ता पाउनेछन ।
यस्तो काममा खटिने दैनिक ज्यालादारी तथा करार सेवाका कामदारलाई खाइपाई आएको पारिश्रमिकका अतिरिक्त ६ हजार ८ सय ७५ रुपैयाँ थप भत्ता दिन भनिएको छ ।
भत्ता रकम कामदारका लागि सरकारले तोकेको न्युनतम पारिश्रमिकको ५० प्रतिशत बराबर हो ।
निषेधाज्ञा अवधिभरमा मिटर रिडिङ गर्न र महशुल संकलन गर्न काउन्टरमा खटिएका कर्मचारीले खाइपाई आएको तलबभत्ताका अतिरिक्त शुरु तलबको ३० प्रतिशत भत्ता पाउनेछन । दैनिक ज्यालादारी र गोटागन्तीमा मिटर रिडरका हकमा पनि यो सुविधा लागु हुनेछ ।
यो अवधिमा फिल्डमा खटिने प्रशारण तथा वितरणलाइन आयोजनाका कर्मचारी, प्रणाली संचालन विभाग, ग्रिड सबस्टेशन, वितरण सबस्टेशन एवं विद्युत उत्पादन केन्द्रका मर्मत सम्भारमा खटिने कर्मचारीले खाइपाइ आएको तलबको २० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन ।
जेठ महिना पछि विद्युत प्राधिकरणको प्रधान कार्यालय र सम्पूर्ण निर्देशनालयमा इपिआर भत्ता रोक्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।