असार मसान्तसम्म लघुवित्तका ऋणीलाई १०% सम्म ब्याज छुट



काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले १० प्रतिशत सम्म ब्याज छुट पाउने भएका छन् । कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितमा ऋणीलाई सहुलियत दिने निर्णय नेपाल लघुवित्त बैंकर्स संघले गरेको हो ।

संघले ऋणीलाई चालू आर्थिक वर्षको असार मसान्तसम्म ब्याज छुट दिने जनाएको छ । हाल ७२ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । यी संस्थाहरुले २८ लाख ऋणीहरूलाई २ खर्ब ८० अर्ब रुपैयाँ ऋणी प्रवाह गरेका छन् ।

संघले एक परिपत्र जारी गर्दै सदस्य संस्थाहरूलाई ऋणी ग्राहकहरूलाई ब्याजमा संस्थागत क्षमताअनुसार ऋणीलाई ब्याजमा सहुलियत प्रदान गरी सुमधुर व्यावसायीक सम्बन्ध बनाउने काम गर्न आग्रह गरेको छ ।

सो निर्णय सबै लघुवित्त संस्थाको सहमतिमै भएको र प्रत्येक सस्थाले ५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याज छुट दिने संघका अध्यक्ष तथा बिजया लघुवित्तका सीइओ बसन्त लम्सालले बताए ।

‘हाल यस्तो छुट चालू आवको असारसम्मलाई दिने निर्णय भएको छ, छलफलमा सदस्य सबै संस्थाले ५ देखि १० प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेक छौ,’ उनले क्लिकमाण्डूसँग भने ।  कोभिडले सिर्जना गर्ने परिस्थिति हेरेर यो सहुलियतलाई थप निरन्तर दिनु पर्ने पनि हुन्छ ।

यस्तो छुट लघुवित्तहरुले आफ्ना ऋणीहरूलाई दिन सुरु गरिसकेको र बिजया लघुवित्तले १० प्रतिशत ब्याज छुट दिने उनले जानकारी दिए ।

यसैगरि, संघले सो परिपत्रमा सदस्य संस्थाहरुलाई कोभिडको संक्रमणबाट बच्न स्वास्थ मापदण्ड पालना गर्दै डिजिटल प्रविधिको प्रयोग गरि कारोबार गर्न समेत सुझाएको छ ।


क्लिकमान्डु