कोरोनाले ह्वात्तै घट्यो सुनचाँदीको आयात
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले वार्षिक रुपमा आयात हुने सुनचाँदी ह्वात्तै घटेको छ । सामान्य अवस्थामा नेपालमा वार्षिक रुपमा आयात र खपत हुँदै आएको सुनचाँदी कोरोना महामारीका कारण घटेको हो ।
सामान्य अवस्थामा वार्षिक रुपमा ७ हजार केजीभन्दा बढी सुन आयात हुँदै आएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयात भएको सम्पूर्ण सुन खपत हुने व्यवसायीहरू बताउँछन् ।
विगतको वर्षहरूमा वार्षिकरुपमा ७ हजार बढी आयात हुँदै आएकोमा कोरोनाले गर्दा पहिलो पटक कम आयात भएको व्यवसायीहरूको भनाइ छ ।
आर्थिक वर्ष २०७६/७७ मा सुन आयातमा ह्वात्तै गिरावट आएको छ । उक्त वर्ष २४ सय केजी मात्रै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ४ सय ९३ केजी सुन आयात गरेको थियो । तर, आवक २०७६/७७ मा २४ सय केजी मात्रै सुन आयात भएको छ । जुन विगतको वर्षको तुलनामा ६७ प्रतिशतले कमी हो ।
आव २०७७/७८ मा भने केहीले बढेको छ । जसमा चालु आवको चैत मसान्तसम्ममा २७ सय ६० केजी सुन आयात भएको छ । तर, पछिल्लो समय कोरोना बढ्दै गएपछि निषेधाज्ञा लागू भएकाले चालु आवमा ३ हजारभन्दा बढी सुन आयात नहुने व्यवसायीहरूको भनाइ छ ।
गत वर्षको आयात कमी हुनुको मुख्य कारण कोरोना रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । कोरोनाले सुन खपत हुने सिजनमै लकाडाउन र निषेधाज्ञाले गर्दा सुन आयात तथा खपतमा गिरावट आएको उनले बताए ।
त्यस्तै, महासंघको पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार सुनको आयात र खपत कम हुनुको मुख्य कारण कोरोना र मूल्य बताउँछन् । साथै, सरकारले लकडाउनको समयमा कोटा १० केजीमा झारेकाले पनि खपत कम भएको उनको भनाइ छ ।
सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ११ गत लकडाउन गरेको थियो । सो लकडाउन गरेसँगै सरकारले सुनको कोटा २० केजीबाट १० केजीमा झारेको थियो ।
साथै, लकडाउनको समयमा सुनको मूल्य निरन्तर उकालो लागेर १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । यसले गर्दा पनि खपतमा निकै असर परेको पूर्वअध्यक्ष शाक्य बताउँछन् ।
‘एकातिर कोरोनाले आर्थिक मन्दी खेपिरहेको थियो । अर्कोतर्फ आफ्नो परम्परा अनुसार सुन किन्नको लागि पनि धेरै पैसा आवश्यक पर्ने अवस्था थियो । त्यसैले सुनको खपतमा निकै असर परेको हो,’ उनले क्लिकमान्डूसँग भने ।
त्यति मात्रै नभई कोरोनाले आर्थिक मन्दी खेपिरहेको अवस्थामा सर्वसाधारणहरूले आफूसँग भएको सुन पनि बिक्री गरेका थिए । सर्वसाधारणहरूले उक्त समयमा सुन व्यवसायीलाई सुन थुपारे पछि सोही सुन बजारमा खपत भएकाले आयातमा गिरावट आएको उनको बुझाइ छ ।
तर, जब सरकारले लकडाउन र निषेधाज्ञा खोलेपछि बजारलाई आवश्यक सुन सरकारले प्रदान गर्न नसक्दा समस्या देखिएको उनको भनाइ छ ।
‘लकडाउन र निषेधाज्ञामा मूल्य बढ्नुका साथै मानिसले सुन व्यवसायीलाई सुन थुपारे,’ उनले भने, ‘पछिल्ला दिनमा अवस्था सामान्य अवस्था हुँदै गएपछि बजारमा अत्याधिक माग आएका थिए । तर, सरकारले सो बेला सिमित कोटा प्रदान गर्दा व्यवसायीहरूले बिक्री गर्न समस्या भएको थियो ।’
सामान्य अवस्थामा वार्षिक ७ सय ३ सय ५० केजीसम्म आयात तथा खपत हुँदै आएकोमा आगामी दिनमा उक्त परिणामको सुन खपत हुन समय लाग्ने उनले बताए ।
चाँदीको आयातमा पनि गिरावट
त्यस्तै, सुनको खपतसँगै चाँदीको खपत पनि ह्वात्तै घटेको छ । सामान्य अवस्थामा करिब डेढ लाख केजीसम्म आयात तथा खपत हुँदै आएकोमा कोरोनाले गर्दा चाँदीको आयात तथा खपत दुबैमा अत्याधिक गिरावट आएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा १ लाख २९ हजार २ सय ५२ केजी आयात भएको चाँदी आव २०७६/७७ मा ९२ हजार १९ केजी मात्रै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । साथै, चालु आवको चैत मसान्तसम्ममा ४२ हजार ९ सय ८१ केजी आयात भएको छ ।
सुनचाँदी आयातको तथ्याङ्क
आगामी दिनमा सुनको मूल्य १ लाख ननाघ्ने
गत वर्ष लकडाउन र निषेधाज्ञाको समयमा सुनको मूल्य १ लाख नाघेको थियो । तर, यो वर्ष उक्त मूल्य पुनः कायम नहुने व्यवसायीहरू बताउँछन् । महासंघका पूर्व अध्यक्ष शाक्यका अनुसार कतिपय मानिसलाई लकडाउन भयो, अब सुनको मूल्य बढ्छ भन्ने धेरैको धारणा छ ।
यद्यपि गत वर्ष कोरोनाबारे अनविज्ञ र भ्याक्सिन तयार हुने नहुने अनिश्चित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
आगामी दिनमा भने विगतको दिनमा रेकर्ड कायम भएको मूल्य नाघ्न नसक्ने उनको अनुमान छ । हाल कोरोना तीव्ररुपमा बढे पनि विभिन्न देशहरुले भ्याक्सििनलगायत अन्य औषधीको विकास गरेकाले सुनको मूल्य १ लाखभन्दा माथि उकालो नलाग्ने उनको विश्वास छ ।