किसानका समस्यामा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन



काठमाडौं । राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् ।

आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराइन् ।

त्यसैगरी अध्यक्ष दंगालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराएका थिए ।

त्यस अवसरमा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर विस्तृत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशिन दिइन् ।

झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग समक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गरिन् ।

मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियम लगायतका कानूनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमन लगायतका कार्यहरूमा नेपाल सरकारलाई सल्लाह, सुझाव सहितका कार्यहरू निरन्तररूपमा अगाडि बढाउन आयोगका पदाधिकारीसँग अपेक्षा व्यक्त गरिन् ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरहरूको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाब नेपाल सरकारलाई पेश गर्न उनले अनुरोध गरिन् ।


क्लिकमान्डु