कृषि मन्त्रालयले पाएको बजेट सिलिङको २६ प्रतिशत रासायनिक मलमा छुट्याइने



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी वर्ष २०७८/७९ का लागि कुल ३६ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट सिलिङ पाएकोमा प्राप्त सिलिङको २६ प्रतिशत रकम रासायनिक मलका लागि छुट्याइने जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि रासायनिक मल अनुदानमा चालु आर्थिक वर्षका लागि छुट्याएको रकम बराबर नै छुट्याउने प्रस्ताव मन्त्रालयले गरेको छ ।

मन्त्रालयका सहसचिव हरिबहादुर केसीले अहिले रासायानिक मल आवश्यकता र बाध्यता दुवै बनेको कारण पर्याप्त रकम छुट्टयाउनु पर्ने अवस्था रहेको बताए ।

मन्त्रालयले पाउने बजेटको अर्को ठूलो हिस्सा नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि छुट्याइनेछ । नार्कमा ३ अर्ब रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा ३ अर्ब २१ करोड रुपैयाँ बराबर बजेट विनियोजनको प्रस्ताव गरिएको छ ।

परियोजनाका लागि छुट्याइने रकम नेपालभर सञ्चालन भइरहेका जोन, सुपर जोन, पकेट, ब्लकमा खर्च हुनेछ । हाल सञ्चालनमा रहेका बाहेक चालु आर्थिक वर्षबाट थप ११ जोन, १७७ सुपरजोन, २३ पकेट तथा १ हजार ब्लकको स्थापना हुनेछ ।
मन्त्रायललाई वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ६० करोड रुपैयाँ बराबरको सिलिङ प्राप्त भएको छ ।

यस बाहेक स्थानीय तथा प्रदेश सरकारमा विनियोजित हुनुपर्ने रकममा क्रमशः ५ अर्ब ५० करोड र २ अर्ब ५० करोड रुपैयाँ बराबर रहेको छ । कृषि विभाग र पशुपन्छी विकास विभागका लागि समान १ अर्ब रुपैयाँ बराबर बजेट प्रस्ताव गरिएको छ ।

त्यस्तै, कृषि बीमातर्फ १ अर्ब ५० करोड र उखु अनुदानमा १ अर्ब जाने भएको छ । सहसचिव केसीका अनुसार अनुदान शीर्षकमा मात्रै कुल १४ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु