मध्य भोटेकोशीको आइपीओ स्थगित



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले जारी गरेको आइपीओ स्थगित गरेको छ ।

आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि सेयरको निष्कासन तथा बिक्री खुला स्थगित गरिएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल क्यापिटलले जानकारी दिएको छ ।

कोरोना महामारीको जोखिम बढेसँगै सम्भावित संक्रमण रोक्नका लागि जिल्लाभर अत्यावश्यक सेवा बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने निषेधाज्ञा जारी भएकाले अर्को व्यवस्था नभएसम्मका लागि आइपीओ निष्कासन स्थगित गरिएको हो ।

कम्पनीले परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिने समेत बताएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकितका दरले ६० लाख कित्ता सेयरमध्ये सिन्धुपालचोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५, बाह्रबीसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ का बासिन्दाका लागि खुलाइएको १८ लाख कित्ता सेयर जारी गरेको थियो । कम्पनीले गत बैशाख २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो ।


क्लिकमान्डु