इसेवा अकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज



काठमाडौं । इसेवा प्रयोगकर्ताले इसेवा अकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।

अब इसेवा अकाउन्टलाई बैंक अकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत् अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् ।

आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले अकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

‘इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौं,’ उनले भने ।

अकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा अकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग अकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ ।

यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा अकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिनेछ ।

बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ । यहाँ लिंक अकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ ।

बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लग इन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गर्नुभएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा अकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्लिकमान्डु