निषेधाज्ञा भए पनि डिजिटल प्रणालीमार्फत् कर बुझाउनुहोस्ः राजश्व विभागका महानिर्देशक आचार्य



काठमाडौं । सरकारले निषेधाज्ञाबीच पनि डिजिटल माध्यमबाट कर भुक्तानी गर्न आग्रह गरेको छ ।

निषेधाज्ञा भएका क्षेत्रका करदातालाई डिजिटल भुक्तानीमार्फत् नै भएप नि कर तिर्न सक्ने भएकाले सरकारलाई राजश्व संकलनमा समस्या नहुने आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए ।

हाल ५६ वटा जिल्लामा कर कार्यालय बिस्तार भइसकेको र अधिकांश कार्यालयमा बैंक काउन्टर समेत भएको जानकारी दिँदै उनले त्यहाँको सेवालाई दोस्रो चरणको निषेधाज्ञाले कुनै पनि किसिमको असर नपर्ने बताए ।

‘कर्मचारीलाई आलोपालो सिस्टम मिलाएर सेवा प्रदान गरिरहेका छन्, निषेधाज्ञा भएको क्षेत्रमा पनि कर तिर्नका लागि कुनै समस्या छैन्,’ महानिर्देशक आर्चायले भने ।

कर तिर्नका लागि धेरै प्रविधिको विकास भएको भन्दै उनले एनसीएचएलमार्फत् एक पटकमा १० लाख रुपैयाँसम्म कर तिर्न सकिन बताए ।

‘एक दिनमा १० लाख रुपैयाँ कर तिर्नुपर्ने करदाताहरु हाम्रोमा कमै छन् भने त्योभन्दा बढी तिर्न पर्दा २/३ वटा ट्रान्ज्याक्सन गरी सजिलै कर तिर्न सकिन्छ,’ उनले भने ।

डिजिटल प्रविधिको प्रयोग गरी ३० लाख रुपैयाँसम्म कर तिर्न सकिने र साना करदाताहरुलाई समेत सबै स्थानको कर कार्यालयमा भिडभाड नगराइ बैंकका कर्मचारीसँग समन्वय गराई कर तिर्ने वातावरण मिलाइएको उनको भनाइ छ ।

‘अहिले शतप्रतिशत करदाताहरुले घरमै बसेर अनलाइनमार्फत् नै कर बुझाउने व्यवस्था विभागले गरिसकेको छ, एनसीएचएलको एपमार्फत् कर तिर्न कुनै समस्या छैन्, तर यही निषेधाज्ञाकै कारण अथवा टेक्नोलोजिको कारणले करदाताले समयमा कर तिर्न सकेनन् भने त्यसमा दण्डित हुने अवस्था भने आउँदैन,’ उनले थपे ।

कर तिर्नका लागि करदाता कर कार्यालय नै आउनु पर्ने स्थिती अहिले नरहेको हुँदा निषेधाज्ञाले कर भुक्तानीमा कुनै समस्या नहुने हुँदा कर भुक्तानीको समय नसारिने उनको भनाइ छ ।

विभागले राजश्व संकलनलाई शतप्रतिशत नै डिजिटल प्रविधिमा लैजाने तयारी गरिरहेको र आगामी वर्षदेखि विभागका अधिकांश सेवा डिजिटल प्रविधिमार्फत् नै प्रवाह गरिने उनले जानकारी दिए ।


क्लिकमान्डु