जीडीपीमा कृषिको योगदान घट्दा व्यापार र घरजग्गाको बढ्यो, कुन क्षेत्रको कति योगदान ?



काठमाडौं । मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान घट्दा व्यापार र घरजग्गा कारोबारको योगदान भने बढेको देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांकअनुसार गत आर्थिक वर्षमा कृषिले कुल ग्राहस्थ उत्पादनको २६.२१ प्रतिशत ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २५.८३ अंकमा खुम्चने अनुमान गरिएको छ ।

त्यस्तै व्यापारको योगदान ०.६३ प्रतिशत बिन्दुले बढेर १५ दशमलव ६७ अंकमा पुगेको छ । घरजग्गा कारोबारको योगदान गतवर्ष ९.१८ प्रतिशत रहेकोमा बढेर ९.४३ अंकमा पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा कुल ग्राहस्थ उत्पादनको अंश सामान्य बढ्नेमा उद्योग, थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवाज तथा भोजन सेवा, वित्तीय मध्यस्थता, रियलस्टेट तथा व्यवसायिक सेवा, पेशागत बैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरु रहेका छन् ।

त्यस्तै, जीडीपीमा योगदान घट्नेमा कृषि तथा वन, मत्स्य, खानी तथा उत्खनन, पानीको आपूर्ति, निर्माण, सार्वजनिक प्रशासन तथा रक्षा, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवा र अन्य सेवाहरु रहेका छन् । विद्युत् तथा ग्यासको हिस्सा भने समान रहेको छ ।


क्लिकमान्डु