निर्यातजन्य वस्तुलाई अतिआवश्यक वस्तुको सूचिमा राख्न सरकारसँग माग



काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बिहीबारबाट लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएका असंगठित क्षेत्रका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउने निर्यात व्यवसायी महासंघ नेपालले सरकारसँग माग गरेको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गर्न सहज वातावरण बनाउन पनि महासंघले सरकारसँग माग गरेको छ ।

त्यस्तै, महासंघले निर्यातजन्य वस्तुलाई अतिआवश्यक वस्तुको सूचीमा समावेश गर्न र उत्पादन तथा ढुवानीको वातावरणलाई सहज बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।

‘अर्थतन्त्र चलायमान बनाइराख्न पनि दैनिक उपभोग्य सामग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग, महत्वपूर्ण परियोजनाहरु सञ्चालन गर्नु आवश्यक छ,’ महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

महासंघले देशभित्रै उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, विक्री, स्वदेश मै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउनका साथै निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नको लागि सहजीकरण गर्नु आवश्यक रहेको बताएको छ ।

सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्दा अर्थतन्त्रलाई चलायमान भइराख्ने र मजदुरहरुको दैनिक जिविकोपार्जनको समस्या पनि हल हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

निर्यात व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र भएकोले उद्योग बन्द गर्दा हाल भैरहेको मागको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने र त्यसको क्षतिपूर्ति पनि नहुने हुँदा निर्यात क्षेत्र मन्दिको अवस्थामा फस्न जाने पनि महासंघको भनाइ छ ।


क्लिकमान्डु