नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण



काठमाडौं । एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत र २०७९/८० मा ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बैंकले नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेसन अभियानका कारण आर्थिक गतिविध चलायमान हुने अपेक्षा समेत गरेको छ ।

बैंकले कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशतले बढ्ने र मौसम अनुकुल भएकाले धान उत्पादन १.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । त्यसैगरी उत्पादनमूलक र सेवामूलक क्षेत्र लकडाउन खुलेयता बिस्तारै चलायमान भएको उल्लेख गरेको छ । साथै उद्योग, ठूला, साना तथा मध्यम खालको उद्यमशिलतालाई असर पुर्याएको एडीबीले उल्लेख गरेको छ ।

लकडाउनपछि निर्माणको काममा आएको बढोत्तरी, ठूला आयोजनाको निर्माण सम्पन्न हुँदै गर्दा यसले अर्थतन्त्र रिकभरीमा सहयोग पुगेको बताएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर पहिलो चरणको उत्पादन शुरु हुने र मेलम्ची खानेपानीको वितरण शुरु भइसकेकाले निर्माण क्षेत्रमा २।५ प्रतिशतले वृद्धि हुने समेत अपेक्षा गरिएको छ ।

त्यसैगरी सेवामूलक क्षेत्र ३.४ प्रतिशतले बढ्नुका साथै हस्पिटालिटी, ट्राभल एण्ड टुरिजम क्षेत्र रिकभर हुन केही समय लाग्ने समेत एडीबीको भनाइ छ ।

चालु आवमा मूल्यवृद्धि ५ प्रतिशतमा रहने समेत उल्लेख छ । सन् २०२० मा मूल्यवृद्धि ६.२ प्रतिशत थियो । एडीबीले सन् २०२२ मा नेपालको जीडीपी ग्रोथ ५.१ प्रतिशतले हुने समेत प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु