बजेट लेखनमा सक्रिय अर्थमन्त्रीको कोरटीम बजेटपछि अर्थमन्त्रालयमा नरहने



काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट लेखनमा व्यस्त छ । मन्त्रालयको ढोका थुनेरै कर्मचारीहरु नयाँ आर्थिक वर्षको आय–व्ययको हिसाब किताब गरिरहेका छन । उनीहरु कार्यालय समयभन्दा बाहेक खटिएरसमेत रातो किताबलाई मूर्त रुप दिँदैछन ।

तर नयाँ बजेट लेखनमा सक्रिय कर्मचारी संयन्त्र बजेट कार्यान्वयको समयमा भने मन्त्रालयबाट बाहिरिसक्ने संकेत देखिएको छ । बजेट निर्माणमा मुख्य भूमिका अर्थमन्त्रीको हो । त्यो बाहेक बजेट लेखनको ‘ब्युरोक्य्राटिक लिड’ अर्थ सचिवले गर्छन् ।

अर्थसचिव शिशिर कुमार ढुंगाना आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा करिब ६ महिनामा मात्रै हुनेछन । उनी आउँदो माघमा अवकास पाउँदैछन ।
त्यस्तै राजश्व सचिव रामशरण पूडाशैनी नयाँ बजेट आएको करिब २ महिना मात्रै सेवामा रहनेछन । उनको आगामि साउनमा अवकास हुँदैछ ।

बजेट लेखन टिमको नेतृत्व गरिरहेका आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख राम प्रसाद घिमिरे सचिवका रुपमा बढुवा भएपछि अर्थ मन्त्रालयबाट बाहिरिने देखिएको छ । त्यस्तै राजश्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल पनि सचिवमा बढुवा भएपछि अर्थ मन्त्रालयको टिमबाट बाहिरिन सक्ने सम्भावना छ । अर्थ मन्त्रालयमै सचिवको जिम्मेवारी पाउने सम्भावना भने घिमिरे र दंगालको निकै कम छ ।

अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालको विश्व बैंकमा जागिर तय भईसकेको छ । विश्व बैंकमा नियुक्त भइसकेका नेपाल बजेटलगत्तै अमेरिका जानेछन् ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माका ब्याचीहरु धमाधम प्रदेश सचिव भएर जान थालिसकेका छन । सचिवमा बढुवाका लागि पनि कम्तीमा एक वर्ष प्रदेश वा स्थानिय तहमा काम गरेको हुनुपर्ने मापदण्डका कारण शर्मा पनि अब बजेटलगत्तै प्रदेश जानेमा पर्छन् । प्रदेशमा कम्तीमा एक वर्ष कार्य सम्पादन पछि अर्थ मै फर्किने सम्भावना शर्माको देखिन्छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा महेश आचार्य र प्रशासन महाशाखा सुमन दाहालले सम्हालिरहेका छन । यी दुईजनाको कार्य जिम्मेवारी केहि समयअघि मात्र हेरफेर भएको हो । अहिलेको जिम्मेवारीमा आउनु अघि दाहाल मन्त्रालय कै योजना अनुगमन तथा मूल्यांकन महाशाखा र आचार्य बीरगंज भन्सार कार्यालय प्रमुख थिए । उनीहरुको अन्तरमन्त्रालय सरुवा तत्काल नहुने देखिन्छ ।


क्लिकमान्डु