सनफ्लावर तेलको निर्यात हालसम्मकै उच्च



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको अवधिमा सनफ्लावर तेल हालसम्मकै उच्च निर्यात भएको छ ।

भन्सार विभागको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार सनफ्लावर तेलको अप्रत्याशित रुपमा निर्यात भएको देखाउँदछ ।

चालु आव चैतमसान्तसम्ममा नेपालले १ अर्ब २९ करोड १९ लाख बराबरको ८३ लाख ३१ हजार ९ सय ३१ लिटर निर्यात गरेको छ ।

सोही अवधिमा आर्थिक वर्ष २०७६÷७७ मा नेपालले २ करोड ४८ लाख २७ हजार मूल्य बराबरको १ लाख ८२ हजार ७८ लिटर तेल निर्यात गरेको थियो । जुन चालु आवको तुलनामा ५१३.६१ प्रतिशतले कमी हो ।

चालु आवको चैत मसान्तसम्ममा १३.१२ प्रतिशतले बढी आयात गरेको नेपालले २०.२३ प्रतिशतले बढी निर्यात गर्न सफल भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्क अनुसार नेपालबाट निर्यात मुख्य ३० वस्तु तथा सेवा मध्ये ९ वटामा गिरावट आएको छ भने बाँकी २१ वटामा निर्यात बढेको देखिन्छ ।

नेपालबाट अत्याधिक मात्रामा निर्यात हुँदै आएको पाम आयलमा भारतले प्रतिबन्ध गरेसँगै हाल नेपालबाट सबैभन्दा बढी भटमासको तेल निर्यात हुँदै आएको छ ।

चालु आवको चैत मसान्तसम्म आइपुग्दा नेपालले २८ अर्ब ८१ करोड ३४ लाख मूल्यको भटमास तेल निर्यात गरेको छ । गत वर्ष सोही अवधिमा ७ अर्ब ८२ करोड ७ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा २६८.४२ प्रतिशतले बढी हो ।

त्यसैगरी, नेपालको किसानबाट उत्पादित अलैंची पनि अत्यधिक निर्यात गर्न सफल भएको छ । चालु आवमा भारतमा अलैंचीको उत्पादन कम भएकाले नेपालको अलैंचीको माग आएको अलैंची व्यवसायीहरू बताउँछन् ।

साथै, नेपालमा यो वर्ष अलैंचीको उत्पादन पनि बढी भएका कारण गत वर्षको तुलनामा ७०.१२ प्रतिशतले निर्यात भएको व्यवसायीहरूको भनाइ छ । चालु आवको चैत मसान्तसम्ममा नेपालले ५ अर्ब ६८ करोड ७१ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।

प्रबर्द्धन केन्द्रको अनुसार चैत मसान्तसम्ममा गत वर्षको तुलनामा जुट तथा जुटको वस्तु २७.८७ प्रतिशतले बढी निर्यात भएको देखिन्छ । साथै, उनीको कार्पेटमा ७.५३ प्रतिशत, चिया ६४.५० प्रतिशत, फेल्ट प्रोडक्ट ७३.८३ प्रतिशत, जुस ६.२२ प्रतिशत, टेक्सुटायल ९.४२ प्रतिशतले बढेको छ ।

पछिल्लो समय उनी र पस्मिनाको सलको पनि निर्यात अत्यधिक हुन थालेको छ । चालु आवको ९ महिनासम्ममा नेपालले उत्पादन बढाएर ४३.३० प्रतिशतले निर्यात बढी भएको छ ।

त्यस्तै, मेडिकल हर्बस् १३.७७ प्रतिशत, नुडल्स र पास्ता ६३.०६ प्रतिशत, रोसिन र रेसिन एसिड १७ प्रतिशत, टुथपेस्ट २१.२५ प्रतिशत, इसेन्सिएस आयल ५३६.५० प्रतिशत, नेप्लिज पेपर र पेपर प्रडक्ट २७ प्रतिशत, अदुवा १३ प्रतिशत, सिलभर ज्वेलरी २३.९० प्रतिशत र अन्य वस्तु तथा सेवामा २८.५६ प्रतिशतले निर्यात बढेको केन्द्रको तथ्याङ्कले देखाउँदछ ।

यी हुन निर्यात घटेको वस्तु तथा सेवा
आर्थिक वर्ष २०७६/७७ मा उल्लेखनीय निर्यात हुँदै आएको पाम आयलमा भारतले प्रतिबन्ध गरेसँगै उक्त वस्तुको निर्यात शुन्य अवस्थामा रहेको छ ।

गत वर्ष चैत मसान्तसम्ममा १६ अर्ब ७८ करोड २५ लाख रुपैयाँको पाम आयल निर्यात गरेकोमा चालु आवमा ४ लाख ४३ हजारको मात्रै निर्यात गरेको छ । जुन नगन्य जस्तै रहेको छ ।

चालु आवको चैत मसान्तसम्ममा धागो (पोलस्टार, कटनलगातयत अन्य) मा ६.०९ प्रतिशतले गिरावट आएको छ । गत वर्षको ९ महिनाको अवधिमा ६ अर्ब २३ करोड ३३ लाखको धागो आयात गरेकोमा चालु आवमा निर्यातमा गिरावट आएर ५ अर्ब ८५ करोड ३७ लाख रुपैयाँको निर्यात गरेको छ ।

त्यसैगरी रेडिमेड गार्मेन्टमा ४.३४ प्रतिशत, आइरन र स्टिल प्रोडक्ट २४.३३ प्रतिशत, हस्तकला १५.१४ प्रतिशत, कुपर र आर्टिकल थिइरअफ ३४.३३ प्रतिशत, लेन्टल्स् ५७.०ड प्रतिशत र हाइड्स् एण्ड स्किन ४० प्रतिशतले निर्यातमा गिरावट आएको छ ।

भुटानतर्फ निर्यात बढ्यो
चालु आवको चैत मसान्तसम्ममा गत वर्षको तुलनामा सबैभन्दा बढी भुटानतर्फ निर्यात भएको छ । गत वर्ष १२ करोडको मात्रै वस्तु तथा सेवा निर्यात भएको देशमा चालु आवमा ५९ करोडको वस्तु तथा सेवा निर्यात भएको छ ।

जुन गत वर्षको तुलनामा चालु आवमा ३९५.७ प्रतिशतले बढी हो । यस्तै भारततर्फ २३.५ प्रतिशतले निर्यात बढेको छ । साथै, अमेरिकातर्फ ३१ प्रतिशत, जर्मनीमा ९.७ प्रतिशत, बेलायत ८.८ प्रतिशत, फ्रान्समा १२ प्रतिशत, अष्ट्रेलिया ७७.२ प्रतिशतले निर्यात बढेको छ ।

त्यसैगरी, जापानमा १०.३ प्रतिशत, क्यानाडा २८.५ प्रतिशत, इटली ६ प्रतिशत, नेदरल्यान्डमा ५६.७ प्रतिशत र अन्य देशमा १०.२ प्रतिशतले निर्यात बढेको छ ।

तर, अन्य तीन मुलुकमा भने निर्यातमा गिरावट आएको छ । जसमा टर्कीमा ५०.३ प्रतिशत, चीनतर्फ २७.३ प्रतिशत र बंगलादेशतर्फ ४४.६ प्रतिशतले गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु