व्यवसायी सञ्जय अग्रवालको घरमा सर्यो एमाले मुख्यालय, दुगडले मिलाए ४ रोपनीमा फैलिएको बंगला



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको मुख्यालय बिहीबारदेखि थापथली हाइटमा सरेको छ । व्यवसायी सञ्जय अग्रवालको ४ रोपनी क्षेत्रफलमा फैलिएको साढे २ तलाको घरमा एमाले मुख्यालय सरेको हो ।

२०७२ सालको भूकम्पले एमालेको बल्खुमा रहेको मुख्यालय भत्किएपछि पासाङ ल्हामु शेर्पा प्रतिष्ठानमा सरेको थियो ।

बिहीबार नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बल्खुको मुख्यालय भवनको उद्घाटन गरे । बल्खुमा मुख्यालय नबन्दासम्मका लागि एमालेको पार्टी कार्यालय थापाथलीबाट सञ्चालन हुने छ ।

एमालेको मुख्यालयलाई थापाथलीको घरमा सार्ने काम भने यो पटक प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोति दुगडले गरेका हुन् ।

को हुन् सञ्जय अग्रवाल ?

बृज अग्रवालका छोरा सञ्जय अग्रवाल सामान्य व्यवसायी हुन् । इन्द्रचोकका बृज अग्रवालले कुनैबेला इन्द्रभक्त श्रेष्ठसँग व्यवसायिक साझेदार थिए । खास गरेर कोरियाबाट आउने सामान बृज अग्रवालले ल्याउने गरेका थिए । बृज अग्रवाल र सञ्जय अग्रवालको साझेदारी भने लामो समय टिकेन ।

बृज अग्रवालका कान्छा छोरा सञ्जय अग्रवाल तयारी पोशाकको व्यवसायमा थिए । बुवा बृज अग्रवालबाट अंशमा पाएको व्यवसाय भने सञ्जयले चलाउन सकेनन् । उनले चलाएका व्यवसायहरु असफल नै भए ।

तर, त्यो व्यवसाय पनि सञ्जयले चलाउन सकेनन् । अंशबण्डामा पाएको थापाथली घर भाडामा लगाएर अहिले सञ्जय अग्रवालले आफ्नो दैनिक खर्च चलाउने हो ।

दातृ निकायको कार्यालय सञ्जय अग्रवालको घरमा बसेको थियो । मोति दुगडले नै सन्जयको घर मिलाएका हुन् ।

सामाजिक सञ्जालमा भैरहवाका व्यवसायी राजेश अग्रवालको घरमा नै एमाले मुख्यालय चलेको हल्ला समेत चल्यो । तर, भैरहवाका व्यवसायी राजेश र सञ्जयबीच अग्रवाल थर बाहेक नाता पर्दैन । सन्जय इन्द्रचोकमा जन्मेका हुन् भने राजेश भैरहवामा ।

प्रधानमन्त्रीका सल्लाहकार दुगडले व्यवसायिक कामको लागि भनेर सञ्जयसँग घर भाडामा मिलाएका थिए । सञ्जयलाई एमालेले पार्टी कार्यालय लिने भन्ने शुरुमा जानकारी थिएन ।


क्लिकमान्डु