कोभिड खोपका लागि ४८ अर्ब आवश्यक, स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब बजेट



काठमाडौं । कोभिड १९ महामारी विरुद्धको खोप व्यवस्थापन गर्नका लागि ४८ अर्ब रुपैयाँ बराबर खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि खर्च हुने अन्य रकम बाहेक खोप किन्ने प्रयोजनका लागि मात्र मन्त्रालयले ३३ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।

अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्व बजेट छलफल बैठकमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना विरुद्धको खोप पाउन योग्य ७२ प्रतिशत जनसंख्यामा खोप पुर्याउनका लागि सो रकम आवस्यक रहेको बताए।

अहिले कोभिड खोप पाउन योग्य जनसंख्या २ करोड १५ लाख रहेकोमा दुईपटकसम्म खोप उपलब्ध गराउनका लागि ४८ अर्ब रुपैयाँ बराबर लागत अनुमान गरिएको छ । यसमध्ये आगामी आर्थिक बर्षको बजेटबाट मात्र ३३ अर्ब बराबर बिनियोजन प्रस्ताव मन्त्रालयले गरेको छ ।

सचिव अर्यालका अनुसार केही मात्रामा खोप बिग्रन सक्ने सम्भावनालाई समेत हेरेर ५ करोड डोज खोप आवश्यक रहेको विवरण मन्त्रालयले तयार पारेको छ ।

चालू आर्थिक वर्षको चैत समान्तसम्ममा कोभिड १९ पहिचान, रोकथाम, नियन्त्रण र उपचारमा मन्त्रालयले ५ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बराबर खच गरेको जनाएको छ।

त्यस्तै खोप कार्यक्रम र हाई डिपेन्डेन्सी युनिट (एचडियु) का लागि खर्च भएको २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ बराबर भुक्तानी हुन रहेको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोरोना महामारीको दोश्रो लहरका रुपमा बैसाख देखि असारसम्ममा संक्रमितको संख्या ३ लाख कट्नसक्ने र यो अवधिमा ६० हजार गम्भीर अवस्थाका संक्रमितहरु अस्पतालमा आउनसक्ने जनाएको छ ।

दोस्रो लहरमा महामारीको संक्रमण दर पनि निकै उच्च देखिएको मन्त्रालयले जनाएको छ । अहिले एकजना व्यक्तिबाट ४० देखि ७० जनालाई संक्रमण फैलिरहेको छ।


क्लिकमान्डु