बैंकर गोविन्द गुरुङः यसरी बने विदेशी बैंकको पहिलो नेपाली सीइओ, बर्मा गए कर्मसँगै



काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ-बर्मा गए कर्मसँगै ।

नेपालीभाषीको ठूलो जनसंख्या रहेको बर्मा अर्थात् म्यानमारमा अहिलेमात्रै होइन, सदियौं वर्ष अघिदेखि नेपालीहरु काम गर्न जाने गरेको इतिहास छ ।

बैंकर गोविन्द गुरुङ पनि बर्मामा काम गर्न जाँदैछन् यही बैशाख १७ गते अर्थात् मे १ देखि ।

तर, उनी सामान्य कामदारकारुपमा बर्मा जान लागेका होइनन् । म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको नियुक्ति पाइसकेका छन् ।

‘मे १ देखिको नियुक्ति पाएको छु,’ गुरुङले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म टिकट कन्फर्म भएको छैन । टिकट कन्फर्म भयो भने २८/२९ तारिखमा जान्छु ।’

यतिबेला म्यानमार तनावग्रस्त छ । प्रजातन्त्रबादी नेतृ आङसाङ सूचीलाई अपदस्त गरेर शासनसत्ता सेनाले ‘कु’ गरेको छ । यस्तो कठिन अवस्थामा तपाई किन म्यानमार जान लाग्नुभएको ? भन्ने प्रश्नमा गुरुङ भन्छन्- ‘चुनौतिहरुको सामना गर्ने मेरो बानी छ ।’

सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा, अब म्यानमार सिटिजन बैंकको सीइओ बन्ने

औपचारिकरुपमा ८३/८४ हजार नेपाली भएको भनिए पनि अनौपचारिक रिपोर्टहरुले ३/४ लाख नेपाली भएको देखाउँछ ।

सिभिल बैंकको सीइओको जागिर छाडेर पीएचडी गर्न जाने सोचमा थिए उनी । सञ्चालक समितिलाई करार अवधि सकिएपछि नवीकरण नगर्ने जानकारी गराइसकेका थिए ।

यसरी जागिर छाड्ने जानकारी गराइसकेपछि गुरुङले लिंकडिनमा जब अप्सन खुल्ला गरे । गत फेब्रुअरीको १०/१२ तिर जब अलर्ट (भ्याकेन्सी) आयो । उनले साथीभाईसँग पनि सोधपुछ गरे । सबैले सकरात्मक प्रतिक्रिया दिएपछि अप्लाइ गरे । म्यानमार सिटिजन्स बैंकको सञ्चालक समितिलाई मन पर्यो । र, गुरुङलाई सीइओ बनाउने निर्णय गर्यो ।

‘पीएचडी गर्न जागिर छोडेको मान्छे उहाँहरुको प्रस्ताव मन पर्यो अनि फेरि जागिरमै होमिएँ,’ उनले प्रष्ट पारे ।

आजकालको सञ्चार जगतमा समाजिक सञ्जालको शक्तिशाली भूमिका भएको यसैबाट पनि पुष्टि हुने उनको भनाइ छ ।

कुमारी बैंक र एनआइसी एशियामा काम गरेर म्यानमार गएका टेकराज पराजुली मान्मा सिटिजन्स बैंकका उपाध्यक्ष छन् ।

तर, गुरुङले उपाध्यक्ष पराजुलीलाई अहिलेसम्म भेटेका छैनन् ।

‘टेकराजजी र मेरो अहिलेसम्म भेटघाट भएको छैन,’ गुरुङले भने, ‘वास्तवमै भन्दा म टेक्ने डालो र समाउने धागोबिनै म्यानमार सिटजन्स बैंकको सीइओमा नियुक्ति भएँ, लमजुंगबाट दशकौंअघि काठमाडौं आउँदाको अवस्था जस्तो थियो, अहिले त्यसरी नै बर्मा छिर्दैछु ।’

गुरुङ संवभत विदेशी बैंकको पहिलो नेपाली सीइओ हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । लमजुङमा जन्मिएका गुरुङ गीत संगीत क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

सन् २०१७ देखि सिभिल बैंकको सीइओका रुपमा कार्यरत गुरुङले ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् । यही आइतबारमात्रै बैंक सञ्चालक समितिले उनको राजीनमा स्वीकृत गरिसकेकोछ ।

उनी सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका थिए । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ ।


पुष्प दुलाल