दैनिक ४० केजीसम्म सुनको माग छ, २० केजीको कोटा बढाउनु पर्योः व्यवसायी



काठमाडौं । सरकारले दैनिक कच्चा सुनको कोटा बढाए पनि बजारमा माग धान्न अपुग भएको व्यवसायीहरुले बताएका छन् ।

सरकारले गत चैत १९ गतेदेखि कच्चा सुनको कोटा १० केजीबाट बढाएर २० केजी पुर्याए थियो । सरकारले त्यसअघि गत वर्ष लकडाउन र निषेधाज्ञाको समयमा सुनको कोटालाई २० केजीबाट घटाएर १० केजीमा सीमित पारेको थियो ।

वैशाख महिना विवाहको सिजन पनि भएकाले सुनको माग बढेकाले २० केजी सुन अपर्याप्त भएको व्यवसायीहरुको भनाइ छ ।

एकातिर ढिलो गरी कोटा बढाएको बारे असन्तुष्टि जनाउँदै आएको व्यवसायीले दैनिकरुपमा २० केजी सुन बजारमा वितरण गरेपनि बजार धान्न सक्ने अवस्था नरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघमा अध्यक्ष मनिकरत्न शाक्यले बताए ।

उनका अनुसार हाल बजारमा २० केजीको कोटा भएपछि केही सहज भए पनि अपुग छ ।

त्यसैगरी, महासंघका पूर्वअध्यक्ष मनिरत्न शाक्यले सरकारले सुनको कोटा बढाउने निर्णय ढिला गरेकोमा गुनासो गरे ।

‘हाल बजारमा दैनिक ४० केजीको माग आइरहेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘सरकारले दैनिक वितरण गरेको २० कोटाले बजारमा अलि कति पनि धान्दैन । साथै, बजारमा सुनको अभावले हाहाकारी भएको छ ।’

सामान्य अवस्थामा २५ केजी बजारमा माग आउने गर्दछ भने विवाहको सिजनमा ३० देखि ४० केजीको माग आउने गरेको व्यवसायीहरूको भनाइ छ । साथै, व्यवसायीहरूले दैनिक ३० केजी वितरण गर्नुपर्ने माग गर्दै आएका थिए ।

व्यवसायीहरूको अनुसार यस क्षेत्रलाई व्यवस्थित बनाउनको विभिन्न माग राखे पनि उक्त मागलाई सम्बोधन नगरेको व्यवसायीहरूको आरोप छ ।

‘सुनचाँदी व्यवसायीले सर्वसाधारणहरूलाई सेवा प्रदान गर्ने हो । सरकारले यस क्षेत्रको व्यवसायीलाई किन वेवास्था गरेको थाहा भएन,’ पूर्व अध्यक्ष शाक्यले भने ।

यस्तै, आगामी दिनमा पनि बजारमा सुन नभएर हाहाकारी भएमा कोटा बढाउनको लागि पहल गर्ने महासंघको भनाइ छ ।

साथै, पछिल्लो समय केही बैंकहरूले महासंघले तोकेको मूल्यभन्दा बढी मूल्यमा सुन विक्री गर्दा व्यवसायी मारमा परेको उनले बताए ।


क्लिकमान्डु