बुध्द एयरले एटीआर-७२ विमान थप्दै



काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले एटीआर ७२ विमान खरिद गर्न लागेको छ ।

कोरोना महामारीपछि एउटा एटीआर ७२ विमान खरिद गरिसकेको कम्पनीले यही बीचमा थप अर्को एउटा विमान खरिद गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त विमान मे १५ मा नेपाल आइपुग्नेछ । कोरोना महामारीका कारण विश्वव्यापीरुपमा पर्यटन र उड्डयन क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका बेलामा बुध्द एयरले भने थप अर्को नयाँ विमान खरिद गर्न लागेको हो ।

‘कोरोना महामारीका कारण लामो समयसम्म उडान बन्द भयो, तर त्यसपछि भने आन्तरिक यात्रुको चाप बढ्दो छ, अहिले भइरहेका विमानबाट दैनिक १२८ वटासम्म उडान गरिरहेका छौं । त्यसैका आधारमा अर्को विमान खरिद गर्न लागिएको हो,’ बस्नेतले भने ।

हाल बुध्द एयरसँग–२ वटा बीचक्राफ्ट विमान, ३ वटा एटीआर–४२ विमान र ९ वटा एटीआर–७२ विमान छन् ।


क्लिकमान्डु