केटीएम ड्युक बाइक नेपालमै बनाउने गोल्छा अर्गनाइजेशनको तयारी, प्रक्रिया अघि बढिसक्यो



काठमाडौं । नेपालको प्रतिस्ठित व्यापारिक घराना गोल्छा अर्गनाइजेशनले केटीएम ड्युक बाइक नेपालमै एसेम्बल गरी उत्पादन गर्ने तयारी थालेको छ ।

अष्ट्रेलियन बाइक केडीएम ड्युकको नेपालका लागि आधिकारिक बिक्रेता रहेको गोल्छा अर्गनाइजेशनले अब भने देशमै उत्पादन गर्ने तयारी थालेको हो ।

गोल्छा अर्गनाइजेशनले हुलास अटोक्राफ्ट प्रालिमार्फत् केही वर्षयता बजाजका बाइकहरु नेपालै उत्पादन गरिरहेको छ ।

सवा ८ अर्ब लगानीका २६ सवारीसाधन एसेम्बलिङ उद्योग नेपालमा (सूचिसहित)

केटीएम ड्युक बाइक युवाहरुमाझ निकै लोकप्रिय छ । स्टाइलिस्ट र अन्य बाइकभन्दा फरक आवाज केटीएम ड्युकको विशेषता हो । यो बाइक महंगामध्येको एक हो ।

‘केटीएम ड्युक नेपालमै एसेम्बल गर्नका लागि हामीले गृहकार्य थालेका छौं, यो अलि फरक प्रविधिको भएकाले छुट्टै प्लान्ट राख्नुपर्ने हुनसक्छ,’ गोल्छा अर्गनाइजेशनका प्रमुख शेखर गोल्छाले क्लिकमाण्डूसँग भने, ‘हामीले प्रस्ताव पठाएका छौं, उहाँहरुले स्थलगतरुपमा संभाव्यता अध्ययन गर्न बाँकी छ । त्यसपछि मात्रै औपचारिक प्रक्रिया अघि बढ्छ ।’

कुराकानी सकरात्मक तरिकाले अघि बढेकाले ६ महिनादेखि १ वर्षमा कंक्रिट निष्कर्शमा पुगिने उनको भनाइ छ ।

‘पोजेटिभ्ली कुराकानी अघि बढिरहेको छ,’ गोल्छाले भने, ‘मलाई लाग्छ ६ महिनादेखि १ वर्षभित्र हामी सम्झौता गरेर अघि बढ्न सक्छौं ।’

सन् १९५३ देखि अष्ट्रेलियाबाट उत्पादन शुरु भएको यो बाइक यूरोपमा पनि सर्वाधिक बिक्री हुँदै आएको छ । सन् २०१२ देखि नेपालमा डिलरसिप लिएर गोल्छा अर्गनाइजेशनले यो बाइकको बिक्री वितरण गर्दै आएको छ । भारतमा पनि केटीएम ड्युकको उत्पादन बजाज अटोले गर्दै आएको छ ।


पुष्प दुलाल