विदेशी सहायताको २५.६ प्रतिशत कोरोना नियन्त्रणमा खर्च, आइएनजीओको सहायता घट्यो



काठमाडौं । सरकारले प्राप्त गरेको विकास सहायताको २५.६ प्रतिशत रकम कोरोना भाइरस नियन्त्रणका लागि खर्च भएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले गतवर्ष बैदेशिक सहायताको २५.६ प्रतिशत रकम कोरोना भाइरस नियन्त्रणका लागि खर्च भएको देखिएको छ ।

सार्वजनिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सरकारले २ अर्ब अमेरिकी डलर विकास सहायता प्राप्त गरेको थियो । जुन अघिल्लो आवकोभन्दा २१.२ प्रतिशत बढी हो । गत आवमा प्राप्त आर्थिक सहायताको २५.६ प्रतिशत अर्थात् ५१ करोड २९ लाख अमेरिकी डलर खर्च भएको उल्लेख छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको विकास सहायता प्रतिवेदनले ६९ प्रतिशत ऋणको रुपमा प्राप्त भएको देखाएको छ । जस अनुसार सरकारले प्राप्त गरेको औपचारिक विकास सहायताको दुई तिहाइभन्दा बढी वैदेशिक ऋण रहेको पाइएको छ ।

अर्कातर्फ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा भारी गिरावट आएको छ । अघिल्लो आवमा उनीहरुले २१ करोड ५३ लाख डलर सहयोग गरेकामा गत आव त्यो घटेर १३ करोड १८ लाखमा खुम्चिएको छ । कुल सहायतामध्ये ११.३ प्रतिशत प्राविधिक सहयोग रहेको देखिन्छ ।

प्रतिवेदनअनुसार नेपालले प्राप्त गरेको औपचारिक विकास सहायतामध्ये ५१ करोड २९ लाख अमेरिकी डलर कोभिड १९ रोग विरुद्ध लड्न खर्च भएको देखिन्छ, जुन कुल सहायताको २५.६ प्रतिशत हो ।

पछिल्लो समय नेपालले लिने वैदेशिक सहायतामा ऋणको हिस्सा बढ्दै गएको देखिन्छ । जसलाई सरकारले नेपालको क्षमता बढेको दाबी गर्छ । अर्थ मन्त्रालयले भनेको छ, ‘औपचारिक वैदेशिक सहायतामा ऋणको हिस्सा बढ्नुले नेपाल विकास साझेदारबाट सहुलियतपूर्ण ऋण लिन सक्षम भएको पुष्टि गर्दछ ।’

विकास साझेदारबाट प्राप्त हुने सहायता नेपालको बजेटको महत्वपूर्ण हिस्सा बन्ने गरेको छ । अघिल्लो आवमा १५.२ प्रतिशत बजेटरी सहायता प्राप्त भएकामा गत आव बढेर ३६.९ प्रतिशत पुगेको थियो । प्राप्त हुने सहायता बजेट प्रणालीबाट ८३.५ प्रतिशत खर्च भएको छ । अघिल्लो वर्ष यस्तो माध्यम ७८.४ प्रतिशत खर्च भएको थियो ।

सार्वजनिक प्रतिवेदनले देशको नतिजा ढाँचा र राष्ट्रिय प्रणालीको प्रयोगका साथै नेपालमा विकास सहयोगको प्रभावकारिता अभिवृद्धि गर्न सुधारको सम्भावित क्षेत्रहरूमा आधारित बढी एकीकृत सहयोगको महत्वमा जोड दिएको छ ।


क्लिकमान्डु