ओलीका कारण कम्युनिष्टप्रति जनताको भरोसा गुम्यो, समाज फाँसिवादी निरंकुशतातिर जाने खतराः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फासिँवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन् ।
शुक्रबार वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फासिँवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताए ।
देशभित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरु समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए । नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको पनि उनले बताए ।
‘समाज चरम फासिवादी निरंकुशतातिर जाने खतरा छ । हामी त्यसविरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाई हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ सेटिङ । देश भित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुकोबीचमा सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो बिचित्रको स्थितिमा हामी अहिले छौं ।’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरुमाथि प्रहार हुन थालेको बताए । उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए।
‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धी माथि प्रहार हुन थालेको बेला छ यो । जातिय, भाषिक, वर्गिय, उन्मुक्तितिर अगाडी बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धी माथि प्रहार हुन लागेको अवस्था छ । राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतिक हुनुपर्ने हो । सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो । कम्युनिष्टहरुको एकता र उनीहरुप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ । कम्युनिष्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनिहरुको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरु यत्रतत्र देखिनु आफैमा ठुलो विडम्बना भएको छ ।’ उनले भने ।
अध्यक्ष प्रचण्डले सडक बिस्तारको नाममा सडक नजिकै भएका घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताए । नेपालका नेवार समुदायलाई राज्यले जे गरेपनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरुलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि उनको भनाइ थियो ।