यती एयरलाइन्सको बोर्डिङ पास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि



काठमाडाैं । नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ-कमर्स ग्यापुले यती एयरलाइन्ससँग व्यापार साझेदारी गरेका छन्। यस साझेदारीसँगै यती एअरलाइन्सका यात्रुले  एक्सलट्रिप र ग्यापुमा विशेष छुट प्राप्त गर्नेछन् ।
यती एयरलाइन्सको बोर्डिङ पास अब बोर्डिङ पास मात्र नभएर ग्यापु र एक्सलट्रिपको क्यास भौचर पनि हुने ग्यापु र एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए।
यती एअरलाइन्सको हरेक बोर्डिङ पासमा ग्यापु मार्केटप्लेसको १ सय रुपैयाँको भौचर कोड र एक्सलट्रिपको २ सय रुपैयाँको भौचर कोड उपलब्ध हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए। अप्रिल महिनामा ग्यापुको वार्षिकोत्सव  र नेपाली नयाँ वर्ष समेत रहेकोले सोही भौचर प्रयोग गर्दा ग्यापुमा २ सय र एक्सलट्रिपमा ३ सयको छुट पाइनेछ।
साथै यती एयरलाइन्सको स्काइ क्लबमा आबद्ध २ लाखबढी यात्रुले एक वर्षभरी असीमित पटक प्रयोग गर्न मिल्ने ग्यापुको २ सयको र एक्सलट्रिपको ३ सयको सपिङ भौचर प्राप्त गर्ने खड्काले बताए ।
यती एयरलाइन्स चढ्ने सबै यात्रुले प्राप्त गर्ने बोर्डिङ पासमा उक्त भौचर कोड हुनेछ।
भौचर साथीभाइ आफन्तलाई समेत गिफ्ट गर्न सकिने र  भौचरको कोड प्रयोग गरी छुटमा सपिङ गर्ने मध्ये प्रत्येक दिन एक जनाले ग्यापु र एक्सलट्रीप बाट उपहार पाउने खड्काले बताए।
सन् १९९८ देखि आन्तरिक हवाई सेवा दिँदै आएको यती एयरलाइन्सले ग्यापु र एक्सलट्रिपसँग सहकार्य गर्न पाएकोमा यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खुसी व्यक्त गरे।


क्लिकमान्डु