सरकारी खाताबाट साढे ८ अर्ब कोरोना दावी भुक्तानी गर्नुपर्ने, पहिलो चरणमा ३ अर्ब माग



काठमाडौं । कोरोना बीमा भुक्तानीको दायित्व सरकारले नै साढे ८ अर्ब रुपैयाँ बहन गर्नुपर्ने देखिएको छ । कोरोना बीमा दावी भुक्तानी सम्झौता अनुसार साढे ३ अर्बमाथिको भुक्तानी दायित्व सरकारमा छ ।

हालसम्म पुलमा ८७ हजार कोरोना बीमा दावीको फाइल प्राप्त भइसकेको छ भने जसमध्ये ५६ हजार ७५८ दावी भुक्तानी समितिले प्रमाणिकरण गरिसकेको नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

‘कम्पनीहरुले १९ लाख बढी कोरोना बीमा लेख बिक्री गरेका छन्, अहिले कोरोना बीमा दावी पर्ने विवरण हेर्दा कुल दावी १२ रुपैयाँ बढी पुग्ने देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म दावी आइरहेको छ, यो साताभित्रै १० हजार दावी पर्न सक्ने सम्भावना छ, यही क्रममा दावी पर्दा सरकारकै खाताबाट साढे ८ अर्ब रुपैयाँ कोरोना बीमा दावी भुक्तानी वापत जाने देखिन्छ ।’
अहिलेसम्म ५ अर्ब १२ करोड रुपैयाँ बढी दावी भुक्तानी भइसकेको छ ।

जसमध्ये कम्पनी, पुनर्बीमा र समितिले गरी साढे ३ अर्ब रुपैयाँ दावी वितरण भएको हो । बाँकी रकम भने कम्पनीहरुले आफ्नै खर्चबाट वितरण गरिरहेको उनले जानकारी दिए ।

कम्पनी, पुनर्बीमा र समितिले पुलमा कोरोना बीमा दावी भुक्तानी वापत पुलमा पठाएको रकम वितरण भएको र बाँकी भुक्तानीका लागि सरकारसँग रकम माग गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

कोरोना बीमामा हालसम्म भएको आयव्यवको सम्पूर्ण विवरणको प्रतिवेदनसहित सरकारले भुक्तानी गर्नु पर्ने दायित्व बहन गर्न आग्रह सहतिको पत्र पुलबाट बिहीबार समितिमा पठाइएको थियो । सोही पत्र अर्थमन्त्रालयल पठाइएको उनले बताए ।

‘पुलबाट ३ अर्ब रुपैयाँ दावी भुक्तानी वापत सरकारसँग माग गर्न प्रतिवेदन आएको थियो, सोहीको आधारमा समितिबाट मन्त्रालय पत्र पठाइएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘मन्त्रालयमा रमक फछर्यौट गर्ने विषयमा छलफल भइरहेको छ, हालसम्म पत्रको जवाफ र माग गरिएको रकम प्राप्त भएको छैन ।’

अहिले बीमा कम्पनीहरुले नै परेको दावी भुक्तानीमा खर्च गरिरहेको र सरकारबाट माग गरिएको रकम प्राप्त हभएपछि पुलबाट सबै कम्पनीलाई भुक्तानी गरिएको रकम वितरण गरिने उनको भनाइ छ ।

कोरोना बीमाको कार्यविधि अनुसार परेको दावीमध्ये वितरण भएको रकमको स्रोत खुलाएर पहिलो चरणमा सरकारको दायित्वभन्दा थोरै रकममात्र माग गरिएको संघका महासचिव क्षेत्रीले बताए ।

‘सरकारबाट आएमा सो रकम बीमितलाई बाँढ्दै गर्दा थप दावी वापत माग्न सजिलो होला भनेर ३ अर्ब रुपैयाँ रुपैयाँ मात्र माग गरिएको हो,’ उनले थपे, ‘सो रकम प्राप्त भएपछि थप रकमको लागि पत्र पठाउने तयारी हुन्छ ।’

हालसम्म कम्पनीहरुले १९ लाख बढीलाई कोरोना बीमा लेख बिक्री गरी करिब १ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । कम्पनीमा कोरोना दावी पर्ने क्रम बढेपनि कोरोना बीमा लेख बिक्री भने रोकिएको उनले जानकारी दिए ।


क्लिकमान्डु