नारायघाट-बुटवल सडक तोकिएकै समयमा निर्माण गर्न निर्देशन, यस्तो छ अहिलेको अवस्था



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले नारायणघाट-बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो ।

‘पूर्वपश्चिम राजमार्ग नेपालको लाइफलाइन हो । यस राजमार्गबाट ठूलो मात्रामा यात्रुहरु आवत् जावत् गर्छन्’, समिति सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘यस खण्ड अन्र्तगत पर्ने निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम पूर्वतयारी बिना अगाडि बढाउँदा समस्या भएको हो ।’

न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकोले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेको पनि उनले बताइन् । गुणस्तरीय रुपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडी बढाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गरेको छ ।

नेपालमा सञ्चालन हुने गरेका कतिपय सडक आयोजना तथा अन्य भौतिक पूर्वाधारका आयोजनाहरुको होर्डिङ बोर्ड तथा त्यस्ता आयोजनाहरुको बारेमा लेखिएका डकुमेन्टहरुमा अंग्रेजी भाषा प्रयोग गरेको पाइएको छ । आयोजनाका बारेमा लेखिएका दस्ताबेज आम नागरिकले स्पष्ट बुझ्ने गरी नेपाली भाषामा पनि लेख्ने व्यवस्था गर्न पनि समितिले पूर्वाधार निर्देशन दिएको छ ।

समितिले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताइन् ।

नारायणघाट-बुटवल सडकको अवस्था यस्तो छ

नारायणघाट-बुटवल सडक चार लेनमा विस्तार गर्नेगरी २०७५ पुस १ गते ठेक्का सम्झौता भएको हो । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) र निर्माण व्यवसायीबीच ४२ महिनामा विस्तार सम्पन्न गर्ने सम्झौता भएको छ ।

११३ किलोमिटर सडक खण्ड दुई प्याकेजमा विभाजनगरी ठेकका लगाइएको छ । नारायणघाट-दाउन्ने ६५ किलोमिटर र दाउन्ने-बुटवल ४८ किलोमिटर छ । यी दुई प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । कर्पोरेसनले नारायणगढ-दाउन्ने सडक स्तरोन्नति गर्न भ्याटसहित ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने– बुटबल सडकखण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको हो ।

सडक विस्तारको ठेक्का लागेको २ वर्ष व्यतित हुँदा दुवै प्याकेजको भौतिक प्रगति निराश जनक छ । निर्देशनलायका अनुसार दुवै प्याकेजटको भौतिक प्रगति करिब ५/५ प्रतिशत छ । पूर्वतयारी बिना ठेक्का लगाउँदा आयोजनाले अपेक्षकृत रुपमा भौतिक प्रगति हासिल गर्न नसकेको निर्देशनालयका कर्मचारीहरु स्वीकार गर्छन् ।

वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका लागि स्वीकृती नलिई ठेक्का सम्झौता गरिएको थियो । रुख कटानका स्वीकृती लिन एक वर्षभन्दा धेरै समय व्यतित भएको थियो । हाल भने रुख कटानको स्वीकृती प्राप्त भइसेको छ । साथै कोभिड–१९ का कारण चिनियाँ निर्माण व्यवसायीका कर्मचारी समयमै नेपाल आउन सकेका थिएन् । यसले पनि भौतिक प्रगतिममा समस्या देखिएको निर्देशनालयले जानकारी दिएको छ ।


पुष्प दुलाल