युवराज खतिवडाको गलत नियत ‘करेक्सन’ गर्दै अर्थ समितिले पारित गर्यो बीमा विधेयक



काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गलत मनसायले प्रस्ताव गरेको व्यवस्था हटाउँदै संघीय संसदको अर्थ समितिले बीमा विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा विधेयक पारित गरेको हो ।

तत्कालीन अर्थमन्त्री खतिवडाले बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जीबी चापागाईंलाई हटाउने गलत मनसाय राख्दै २०७५ असारमा नयाँ बीमा ऐनको मस्यौदा संसदमा दर्ता गरेका थिए । उक्त मस्यौदामा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई बीमा प्राधिकरण बनाउने प्रस्ताव गरिएको थियो ।

बीमा समितिका तत्कालीन अध्यक्ष चापागाईंलाई प्राधिकरणको अध्यक्ष बन्न नदिनका लागि खतिवडाले एने पारित भएर प्राधिकरण बनेपछि समितिको बहालवाला अध्यक्षलाई पनि प्राधिकरणले नचिन्ने व्यवस्था गर्न प्रस्ताव गरेका थिए ।

आफूलाई मन नपर्ने व्यक्तिलाई सिध्याउन जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने खतिवडाले चापागाईंलाई अध्यक्षबाट हटाउन विभिन्न प्रपञ्च रचे । तर सफल भएनन् । अनि खतिवडाले बीमा एनेको मस्यौदामार्फत् कानूनी हतियार प्रयोग गर्न खोजेका थिए ।

त्यसबेला चापागाईंलाई खतिवडाले सीधै हटाउने अवस्था थिएन । किनभने एमाले र माओवादी मिलेर नेकपा बनेको थियो । केपी ओली र प्रचण्ड नेकपाका अध्यक्ष थिए ।

अर्थमन्त्री खतिवडा ओलीका अत्यत्नै विश्वासपात्र थिए भने चापागाईं प्रचण्डका ।

तर, रमाइलो पक्ष के थियो भने एउटा अध्यक्ष अर्थात् ओली नेतृत्वको सरकारले अर्का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको नियुक्ति खारेज गर्न प्रस्ताव गर्दै अर्थमन्त्री खतिवडाले संसदमा बीमा एनको मस्यौदा दर्ता गराए ।

खतिवडाले संसदमा दर्ता गराएको बीमा समितिलाई प्राधिकरणमा लैजाने प्रस्ताब पारित भएकै दिनदेखि समितिका अध्यक्ष र सञ्चालकहरुको पद स्वतः खारेज थियो।

ओली र खतिवडाको यस्तो सेटिङ थाहा पाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले लामो समय उक्त मस्यौदा रोकेर राखेका थिए । जसकारण समिति अध्यक्ष चापागाईंको पद पनि जोगिएको थियो ।

बीमा समितिलाई प्राधिकरणमा लैजाने प्रस्ताबको मस्यौदा अलि पहिल्यै बनेको थियो । जसमा भने विद्यमान सञ्चालक समितिलाई नै निरन्तरता दिने उल्लेख थियो ।

तर, अर्थमन्त्री खतिवडाले अहिलेकै सञ्चालक समितिलाई निरन्तरता दिने प्राबधानलाई हटाएर नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताब गरेका थिए ।

‘पहिले नै तयार भएको मस्यौदामा भएका अरु प्रस्ताब नचलाउनु तर सञ्चालक समितिलाई निरन्तरता दिने प्रस्ताब हटाउनुले खतिवडाको नियत प्रष्ट पार्छ,’ अर्थ समितिका एक सांसदले क्लिकमाण्डूसँग भने,- ‘खतिवडाको गलत नियतलाई अहिले आमीले करेक्सन गरेका छौं ।’

अहिले समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल छन् । ओली सरकारले ०७७ माघ १९ गते सिलवाललाई अध्यक्षमा नियुक्ति गरेको हो । अर्थ समितिले पारित गरेको विधेयक संसदको पूर्ण सदनले जस्ताको त्यस्तै पारित गर्यो भने बीमा समिति प्राधिकरणमा रुपान्तरण हुँदा पनि सिलवाल नै प्राधिकरणको अध्यक्ष बन्नेछन् ।


पुष्प दुलाल