वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङः धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताएका छन् । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ ।
उनले नेपाल आर्थिक पत्रकार (नाफिज) सँगको अन्तरक्रियामा उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने बताए ।
अहिले राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।
धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नसक्ने जानकारी उनले दिए ।
उक्त विधिबाट आइपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ ।
साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को १० प्रतिशत कम मुल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।
पहिले अनिवार्यरुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समयअघि मात्रै चुक्ता पुँजीको १० प्रतिशतमात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।
यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालीरहेको बताएको छ ।
अन्तक्र्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, ‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।’
सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘राडार’ निगरानीमा राखेको उनले बताए ।
छलफलबाट नाफिजमा आवद्ध आर्थिक पत्रकारले नयाँ विषयमा बारेमा सिक्ने अवसर पाएको, यसले समाचारको गुणस्तरमा पनि सुधार आउने नाफिजको अध्यक्ष मोदनाथ ढकालले बताए । अन्तरक्रियामा उपस्थित हुन नसक्नेका लागि नाफिजको फेसबुक लाइभमार्फत् हेर्ने व्यवस्था मिलाइएको थियो ।
नाफिजले हरेक साता आर्थिक पत्रकारिताका नयाँ विषयमा ‘नाफिज संवाद’ चलाउँदै आएको छ ।