सरकारको क्षमता नहुँदा कृषिमा विदेशी लगानी भित्राउनुपर्‍योः कृषिमन्त्री अर्याल



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन् ।

सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएको बताइन् ।

भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने र कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ ।

किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उनले बताइन् ।

‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठुलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन,’ मन्त्री अर्यालले भनिन् ।

उनले कृषि क्षेत्रको विकास गर्नको आन्तरिक सामथ्र्यले नभेटेको हुँदा विदेशी लगानी आवश्यक भएको बताइन् ।

‘नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने हो,’मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताइन् ।

‘कोभिड १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरु हजारौँ युवाहरुलाई रोजगारीको कार्यक्रम लिएर अगाडी बढेका छौँ । फार्मको रुपमा, ठुला ठुला फार्महरु व्यवसायिक हिसाबले लैजानेगरी हजारौ जना युवाहरुलाई हामी रोजगारी दिनेगरी, उहाँहरुको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडी बढेका छौँ ।’अर्यालले सरकारी योजना सुनाउदै भनिन् ।

मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको तथा तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाई छ ।


क्लिकमान्डु