अलैंचीको निर्यात हालसम्मकै उच्च, तर कृषकले पाएनन् उचित मूल्य



 

काठमाडौं । आर्थिक वर्ष २०७७/ ७८ को आठ महिनाको अवधिमा हालसम्मकै उच्च अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार विगतको वर्षभरीमा निर्यात गरेको रकम बराबरको अलैचीं आठ महिनाको अवधिमा निर्यात भएको देखाउँछ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालको तर्फबाट निर्यात भएको वस्तुमध्ये भटमासको तेलपश्चात अलैचीं रहेको छ । नेपालले उक्त समयअवधिमा ४ अर्ब ९५ करोड १९ करोड ९५ लाख रुपैयाँ बराबरको ६२ लाख ३ हजार ६३ केजी अलैंची निर्यात गरेको छ । त्यस्तै गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ७५ करोड ३० लाख ३९ हजार मूल्य बराबरको २१ लाख ८१ हजार ४ सय केजी अलैंची निर्यात गरेको थियो । जुन गत वर्षको तुलनामा चालु आवमा ३ अर्ब १९ करोड ८९ लाख ५६ हजार बढी हो ।

त्यस्तै, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पाँच वर्षको तथ्याङ्क अनुसार विगतको दिनमा वार्षिक रुपमा निर्यात भएको अलैंचीभन्दा पनि बढी निर्यात भएको पाइन्छ । जसमा आर्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३÷७४ मा निर्यात बढेको देखिन्छ ।

तर, २०७४/७५ र २०७५/७६ मा निरन्तर ओरालो लागेको देखिन्छ । २०७६/७७ सम्ममा भने उच्च रुपमा निर्यात बढेको प्रवद्र्धन केन्द्रको तथ्याङ्कले उल्लेख गरेको छ । जसमा नेपालले २०७६/७७ मा ५ अर्ब ४ करोड ५९ लाख २० हजारको अलैंची निर्यात गरेको थियो । साथै, २०७५/७६ भने जम्मा २ अर्ब ७२ करोड ६२ लाख ४७ हजार अलैंची निर्यात गरेको थियो ।

साथै, चालु आवको आठ महिनाको अवधिमा हालसम्मकै उच्च निर्यात भएको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार विगतको वर्षहरूमा उक्त अलैंची निर्यात नभएकोमा चालु आवको आठ महिनाको अवधिमा करिब ५ अर्ब बराबरको अलैंची निर्यात गर्नु भनेका सकारात्मक रहेको व्यवसायीहरू बताउँछन् ।

यस्तै, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राज कुमार कार्कीका हनुसार पनि चालु आवको अलैंची निर्यातले उत्साह जगाएको बताए । सोयाबिन तेल निर्यातको हिसाबले सबैभन्दा अगाडि भएता पनि विदेशबाट ल्याएको कच्चा पदार्थले मात्रै बन्ने भएकाले अलैंची नै नेपालको निर्यात वस्तुमा पहिलो अलैंची रहेको उनी दाबी गर्छन ।

‘नेपालमा भुटेर खाने भटमास पनि पर्याप्त छैन । सबै भटमास विदेशबाट ल्याउने र पुनः विदेशमै पठाउने गर्दै आएकाले पहिलो रहेको छ,’ उनले भने, ‘तर, अलैंची भनेको नेपालको मौलिक उत्पादन हो । त्यसैले नेपालको निर्यातमध्येमा पहिलो अलैंची हो ।’

अधिकांश अलैंची भारतमा मात्रै निर्यात

नेपालको अधिकांश उत्पादित अलैंची भारत र पाकिस्तानतर्फ निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँदछ । चालु आवमा पनि अधिकांश हिस्सा भारततर्फ र थोरै मात्रामा पाकिस्तान निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ ।

जसमा करिब ५ अर्बको निर्यात हुँदा भारत तर्फ मात्रै ४ अर्ब ९१ करोड ४६ लाख ५९ हजार रुपैयाँको निर्यात भएको छ भने बाँकी ४ अर्बको पाकिस्तानलगायत अन्य देशमा अलैंची निर्यात भएको तथ्याङ्कले देखाउँदछ ।

यसले गर्दा तेस्रो मुलुकमा नेपालमा उत्पादन गरेको अलैंची पठाउन नसक्दा समस्या देखिएको उनले बताए । व्यवसायीले भारतमा मात्रै नभएर बंगलादेश र भुटान तर्फ निर्यात गर्नुपर्ने भन्दै विगत तीन वर्षदेखि निरन्तर सरकारसमक्ष ध्यानाकर्षण गरेको बताउँछन् ।

साथै, बंगलादेशतर्फ निर्यात गर्दा ३५ प्रतिशत कर लाग्ने भएकाले मूल्य पाउने र उक्त देशबाट तेस्रो मुलुकमा निर्यात गर्न सहज हुने भएकाले सरकारले यसतर्फ विशेष ध्यान दिई निर्यात गर्नुपर्ने उनको भनाइ छ । तर, सरकारले वेवास्था गर्दा व्यवसायी र कृषक मारमा परेको उनले बताए ।

उत्पादन बढेसँगै निर्यात पनि बढ्यो

हरेक वर्ष नेपालले उल्लेखनीय निर्यात गर्दै आएको छ । त्यस्तै, चालु आवमा अलैंचीलाई आवश्यक अनुकुल मौसम भएकाले उत्पादन बढेको उनले बताए । साथै, सोही अनुसार निर्यात पनि भएको उनको भनाइ छ । त्यति मात्रै नभई भारतमा यो वर्ष अलैंची उत्पादन कम भएसँगै माग बढी आएको व्यवसायीहरूको भनाइ छ ।

‘तुलनात्मक हिसाबले यो वर्ष भारतको आसाममा उत्पादन कम भएकाले केही व्यवसायीहरूले अलैंची नेपालबाट निर्यात गरेकै हो,’ उनले भने, ‘पहिले चरणमा जुन हिसाबले उत्साजनक रुपमा माग आएको थियो । तर, पछि कोभिडले गर्दा व्यवसायीहरूले अपेक्षा गरेभन्दा कम निर्यात भएको छ ।’ साथै आठ महिनाको अवधिमै करिब ५ अर्ब हाराहारीमा निर्यात भएकाले आगामी दिन पनि बढ्ने उनको विश्वास छ ।

उचित मूल्य नपाउँदा समस्या

वार्षिक रुपमा करिब नेपालले करिब ९० करोड केजीको हाराहारीमा अलैंची उत्पादन गर्दै आएका छन् । देशभरका विभिन्न ४३ वटा जिल्लामा अत्यधिक उत्पादन गर्न सकिने अलैंची कृषकहरूले उत्पादन गरे पनि उचित मूल्य पाउन नसेको उनको गुनासो छ ।

यसले गर्दा व्यवसायीले उत्पादित कृषकलाई उचित मूल्य दिन नसकेको उनले दुखेसो पोखे । अध्यक्ष कार्कीका अनुसार २०७० देखि भने अलैंचीको मूल्यमा निरन्तर ओरालो रहेको बताए । विगतको दिनमा प्रति केजी २५ सय रुपैयाँमा बिक्री हुने अलैंची अहिले भने ८ सय रुपैयाँमा घटेको उनको भनाइ छ । ‘विगतको दिनमा २५ रुपैयाँमा बिक्यो त्यस पश्चात विस्तारै घटेर १५ सय, १ हजार, गत वर्ष ८ सयसम्म र यो वर्ष ७ सयसम्ममा प्रतिकेजी बिक्री गर्न बाध्य छौं,’ उनले भने ।

त्यसैले नेपालमा उत्पादित अलैंची कृषकले उचित मूल्य नपाएको उनको भनाइ छ । उनका अनुसार मूल्य निरन्तर ओरालो लाग्नुको कारणमा पनि सरकार आफै जिम्मेवार रहेको उनले बताए । नेपालले भारतबाहेक तेस्रो राष्ट्रमा व्यवसायी आफैले सहज ढङ्गबाट निर्यात गर्न सकेको छैन । साथै, करिब ७ वर्ष अगाडि विश्वमा सबैभन्दा बढी उत्पाद गर्दै आएको थियो । तर, पछिल्लो समयमा भारतले पनि आफ्नो उत्पादन बढाइरहेको हुनाले नेपाल प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले गर्दा मूल्य घटेको उनको भनाइ छ ।

‘चालु आवको भारततर्फको उत्पादन हेर्दा नेपालबाट निर्यात भएको अलैंचीको मूल्य बढ्ने आशा राखेका थियौं । तर, भने अनुसार पिक अप लिन सकेन,’ उनले भने । यसले गर्दा किसानलगायत व्यवसायीलाई निरासा बनाइरहेको अवस्थामा पनि अन्य नगदेबालीको तुलनामा बढी मूल्य पर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित नै रहेको उनको बुझाइ छ ।
साथै, नेपालबाट अत्याधिक निर्यात हुने अलैंचीका लागि सरकारले तर्फबाट १,२ वटा गतिविधिलाई अर्थात यस पक्षमा काम गरिदिने हो भने उचित मूल्य मूल्य पाउने उनको दाबी छ । जसमा सिचाईको सुविधा, कृषकलाई कर्जा प्रदान गरेको अवस्थामा मूल्य समायोजन हुँदै बढ्न सक्ने उनले बताए ।

नेपालबाट अत्यधिक निर्यात हुने वस्तु भनिरहँदा यस क्षेत्रको विकासका लागि भने खासै काम हुन नसकेको उनले जिकिर गरे । तर, मूल्य निरन्तर ओरालो लागे पनि उत्पादन भने हरेक वर्ष बढ्दै गएकाले यो यसलाई सकारात्मक लिनुपर्ने उनको बुझाइ छ ।

ताप्लेजुङ्ले मात्रै ४४ प्रतिशत उत्पादन गर्दै

नेपालमा अलैंची खेतीको शुरुवात इलामबाट भएको हो । त्यसपश्चात देशका पूर्वी ९ जिल्लामा उत्पादन गर्न शुरु गरेको थियो । हाल देशमा विभिन्न ४३ वटा जिल्लमा अलैंची उत्पादनको सम्भावन रहेकाले विस्तारै यसतर्फ आकर्षित हुँदै गएको छ ।

त्यसमध्ये पनि ताप्लेजुङ्ले मात्रै ४४ प्रतिशत ओगटेको अक्ष्यक्ष कार्कीको भनाइ छ । त्यसपछि संखुवासभा, इलाम, पाँचथर, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम जिल्ला पहिले देखिनै मूख्य उत्पादन गर्ने जिल्ला रहेका छन् । तर, पछिल्लो समय लमजुङ, गोर्खा, दोलखा, रामेछाप, काभ्रे, कास्कीलगायका जिल्लामा पनि राम्रोसँग अलैंची उत्पादन हुन थालेको उनले बताए ।

आगामी वर्ष उत्पादन घट्ने

चालु आवमा अलैंची अत्यधिक उत्पादन भए पनि आगामी वर्ष भने उत्पादन घट्ने उनको अनुमान छ । यो वर्ष समयमै वर्षा नभएकाले उत्पादन घट्न सक्ने उनले बताए । ‘असोज यता हालसम्म पानी परेको छैन । यसले गर्दा किसानले लगाएको अलैंची विस्तारै मर्न शुरु भइसकेको । त्यसले गर्दा आगामी वर्ष उत्पादन घट्नेछ,’ उनले भने । उनका अनुसार अहिले अलैंचीको फूलहरु फुल्ने मौसम भएकाले अझै एक महिना पानी नपरेको अवस्थामा बोटबिरुवा मर्न सक्ने बढी सम्भावना रहेको उनी बताउँछन् ।


क्लिकमान्डु